२०८३ वैशाख २७ , आइतबार

हुम्लामा सवारी साधनको चेक जाँचमा कडाइ



हुम्ला । हुम्लामा सवारी साधनको चेक जाँचमा कडाइ गरिएको छ । हुम्लाको सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकामा सञ्चालन हुँदै आएको सवारी साधनकाे चेक जाँचमा कडाइ गरिएको हाे । हुम्लामा दुई वर्ष अगाडि नै ट्राफिक कार्यालय स्थापना गरिएको थियो । अहिले जिल्लामा सवारी साधनको संख्या बढेपछि ट्राफिक चेकजाँचमा कडाइ गर्न थालिएको ट्रफिक हवालदार सुरेन्द्र खड्काले जानकारी दिए । हवालदार खड्काका अनुसार जिल्लामा यातायातका साधन वृद्धि भएपछि दुर्घटनाको सम्भावना पनि बढेकोले सवारी चेकजाँचमा कडाइ गरिएको छ । जिल्लामा छोटो तथा लामो दुरीमा सञ्चालन हुने बोलेरो जिप, ट्रयाक्टर, मोटरसाइकलमा कडाइका साथ चेक जाँच गरिएको उनले बताए ।

सवारी चलाउन अत्यावश्यक लाइसेन्स, बिलबुक, सवारी साधनको नम्बरको चेक जाँच गर्ने गरिएको ट्रफिक हवालदार खड्काले जानकारी दिए । उनका अनुसार जिल्लामा करिब बीस बोलेरो जिप, पन्ध्र ट्रयाक्टर र नौवटा मोटरसाइकल दर्ता रहेका छन् । यस भन्दा अगाडि अनियमित सवारी साधन चलाउने गरिएको भएपनि अब सबै सवारी साधन नियम मिचेर चलाउन नपाइने उनले बताए । यदि नियम विपरीत कुनै सवारी साधन चलाएको भेटिएमा नियम अनुुसार रसिद काटेर जरिवाना गरिने उनको भनाइ छ । नियम विपरीत सवारी साधन चलाएमा रु‍.१५ सय देखि पाँच हजार सम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७९ फागुन २१ गते आइतबार