२०८३ वैशाख २५ , शुक्रबार

चिङ्गाड गाउँपालिकामा लक्ष्य भन्दा कम राजस्व संकलन



सुर्खेत । चिङ्गाड गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा कम राजस्व संकलन गरेको छ । गाउँपालिकाले यस चालु आर्थिक वर्षको ६ महिनामा साँढे १० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा झण्डै ९ लाख कम राजस्व संकलन कम गरेको हो । चालु आर्थिक वर्ष सुरु भएको साउन महिनादेखि माघ १९ गतेसम्ममा गाउँपालिकाले आठ लाख ९६ हजार २ सय ४८ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले ३० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २० लाख ५७ हजार राजस्व संकलन गरेको गाउँपालिकाको तथ्याङ्गकमा उल्लेख गरीएको छ । यस चालु आर्थिक वर्षको ६ महिनासम्म गाउँपालिकाले साँढे १० लाख राजस्व संकलन गर्ने लक्ष्य राखे पनि उक्त लक्ष्य वर्षपनि लक्ष्य सफल हुन नसकेको गाउँपालिकाका लेखा अधिकृत कैलास गौतमले जानकारी दिए ।

उनका अनुसार यस चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढी वडा नम्बर ३ मा १ लाख ७२ हजार ८ सय ३९ रुपैयाँ ३२ पैसा भएको छ भने सबैभन्दा कम वडा नम्बर १ मा ७७ हजार ३ सय ११ रुपैया ६२ पैसा राजस्व संकलन भएको छ । यस्तै वडा नम्बर २ मा १ लाख ६९ हजार १ सय ९६ रुपैयाँ ७३ पैसा, वडा नम्बर ४ मा १ लाख ४८ हजार ४८ रुपैयाँ ३७ पैसा, वडा नम्बर ५ मा १ लाख ६२ हजार ३ सय सात रुपैयाँ ३२ पैसा र वडा नम्बर ६ मा ८२ हजार ४ सय ७२ रुपैयाँ ९४ पैसा राजस्व संकलन भएको छ । यस्तै गाउँपालिकाको कार्यालयमा ८४ हजार २६ रुपैयाँ राजस्व संकलन भएको छ । लक्ष्य लिएभन्दा कम राजस्व उठ्दा भने योजनाहरूमा समस्या हुने सम्भावना हुन्छ । तर पनि अधिकांश स्थानिय तहले लक्ष्य भन्दा कमै राजस्व संकलन गर्ने गर्दछन् ।

किन लक्ष्य भन्दा कम राजस्व संकलन हुन्छ ?
गाउँपालिकाका लेखा अधिकृत गौतमका अनुसार राजस्व संकलनको दयरा कम हुनु, भौगोलिक विकटता,स्थानीय तहमा क्षमता र तदारूकता दुवै नहुनु साथै स्थानिय तहहरु अनुदानकै भर पर्ने गरेको हुँदो लक्ष्य भन्दा कम राजस्व संकलन हुने गर्दछ । यस्तै करमा कडाइ गर्दा विरोधको डरले पनि स्थानीय तहले राजस्व कम संकलन गर्ने गरेको पाईन्छ ।

स्थानीय तहमा केके छन् ? त राजस्वका स्रोत
सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, सिफारिस दस्तुर, न्यायिक समिति दस्तुर, भूमि कर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत, बहाल विटौरी घर जग्गा कर, मृत वा मारिएको जीव जन्तुको हाड, सिंग, प्वाँख, छालामा कर प्राकृतिक स्रोत साधनको कर लगायत अन्यकरहरुबाट राजस्व संकलन हुने गर्दछ ।

प्रकाशित मिति : २०७९ फागुन २२ गते सोमबार