२०८३ असार १० , बुधबार

महिलालाई साझा अभियानको रुपमा अगाडि बढाउन आवश्यक छ : प्रदेश प्रमुख परीयार



सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परीयारले राष्ट्रिय समृद्ध हासिल गर्न महिलालाई सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानको रुपमा सबैले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । प्रमुख परीयारले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त कुुरा बताएका हुन् । उनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था, न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको भन्दै उनले सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानकै रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन् । महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा परीयारले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार