जुम्ला। जुम्लाको सिञ्जा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघ अखिल क्रान्तिकारीका सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको प्रकाशित तालिका अनुसार सभापतिमा आचार्यको मात्रै उम्मेदवारी दर्ता भएकाले निर्विरोध निर्वाचित भएका हुन् । सिञ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका संयोजक तिर्थबहादुर नेपालका अनुसार शनिवार बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनको लागि दिइएको समय तालिकामा आचार्य सहित ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उनका अनुसार सभापतिमा आचार्य, सचिवमा सुनकेशा बुढा, कोषाध्यक्षमा दानबहादुर कामीको एकल उम्मेदवारी दर्ता भएको छ । त्यसैले तिनैजना निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा भने गोपाल बुढा र अञ्जु आचार्यले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । क्याम्पस स्रोतका अनुसार विद्यार्थी संगठनहरुबीच पद बाँडफाँट गर्ने सहमति अनुसार अखिल क्रान्तिकारीका आचार्यले सभापति, सचिवमा अनेरास्ववियुकी बुढा र कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका कामीले उम्मेदवारी दर्ता गराएका हुन् ।