रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय अनिल पुन, दुई जना १७ वर्षीय किशोर, दुई जना १६ वर्षीय किशोर र एक जना १४ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार जितबहादुर बुढाको नातीसँगको रिसिईबीको कारण घरमा पुगेकाहरुले आक्रमण गर्दा उनी घाइते भएका थिए । शनिबार राति आठ बजे बुढामाथि कुटपिट भएको र घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको डिएसपी भट्टराईले बताए । घटनाको सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।