सुर्खेत । वीरेन्द्रनगरमा घाँटी रेटिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बुदबुदीमा मंगलवार साँझ फेला परेको शवको गएराति नै पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शव वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का अन्दाजी धुर्वजंग शाहीकाे रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । मृतक शाहीको शव बुदबुदीमा मंगलबार साँझ ५ बजेको समयमा विद्यार्थीहरुले खेतको बाटो हिड्दै गर्दा देखेपछि प्रहरीलाई खबर गरेका थिए । गएराति नै घटना अनुसन्धानको लागि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा आएको थियो ।
शाहीको घाँटीको अगाडिको भागमा गहिरो चोट लागेको थियो । साथै शव नजिकै धारिलो चक्कु समेत भेटिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक शाहीको शव पोष्टमार्टमका लागि हाल प्रदेश अस्पताल कालागाउँमा राखिएको र परीवारहरु किटानी जाहरीको लागि जिल्ला प्रहरी कार्यालय आएको उपरीक्षक शाहीले जानकारी दिए ।
यो पनि हेर्नुहोस्।