२०८३ वैशाख २७ , आइतबार

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक




काठमाडौं। निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ।आयोगले संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा गुलाबी रङ र प्रदेशसभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रङको प्रयोग गरिएको छ।मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारैजनाको तस्बिरसहितको नाम उल्लेख गरिएको छ। उपराष्ट्रपतिका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय यादव र प्रमिला कुमारी यादव र जनमत पार्टीका ममता झाले उम्मेदवारी दिएकी छन् ।

 उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने भन्दै प्रमिला यादवले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गरिसक्नु भएको छ। तर, उहाँले उम्मेदवारी फिर्ता लिने निर्धारित समयभित्र फिर्ता नलिएका कारण नाम र तस्बिर पनि मतपत्रमा राखिएको छ। यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्।शाक्यलाई एमालेको मात्रै समर्थन छ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

प्रकाशित मिति : २०७९ चैत १ गते बुधबार