रुकुमपश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङमा चैते धान उत्पादन रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा शनिबार चैते धान रोपाइँ गरिएको हो । कार्यायका अनुसार चैते धान उत्पादन प्रदर्शनी कायक्रममा हर्दिनाथ १ धानको जात लगाइएको छ । वर्षे धान भन्दा चैते धानको उत्पादन धेरै हुने भएकाले धान उत्पादनमा धेरै फल्ने र आत्मनिर्भर बनाउनका साथै चैते धानमा कृषकलाई आकर्षण गर्न रुकुम पश्चिममा चैते धान उत्पादन प्रदर्शनी कार्यक्रम गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमका कार्यलय प्रमुख मिनबहादुर केसीले बताए ।
कृषि अनुसन्धान परिषद् (नार्क) ले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको थियो । २०७४ सालमा नार्कले चैतमा किसानलाई समुद्री सतहदेखि ७ सय ५० मिटरसम्म चैते ५ जातको धान लगाउन सिफारिस गरेको थियो । रुकुम पश्चिममा पनि चैते धान खेती प्रविधिलाई अझै बढाउदै लैजाने कृषि विकास कार्यालयको योजना रहेको र आगामी वर्ष जिल्लाका विभिन्न सोच तथा बेसीहरुमा चैते धान लगाउने र चैते धानतर्फ कृर्षकलाई आकर्षित गराउने योजना रहेको कृषि विकास कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख केसीको भनाइ छ ।
उक्त प्रदर्शनी कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, सुर्खेतका योजना महाशाखा प्रमुख राजु भुज, कृषि अधिकृत रामभक्त अधिकारी, मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्का, कृषि विकास कार्यालय रुकुम पश्चिमका कार्यलय प्रमुख मीनबहादुर केसी, प्राविधिक सहायक महेश चन्द, नायब प्राविधिक सहायक विजया शर्मालगायत कृषकहरुको उपस्थिति रेहेको थियो ।