सुर्खेत। कुखुरालाई वर्डफ्लु रोग लाग्नबाट बचाउन सुर्खेतका कुखुरापालक किसानहरूलाई आग्रह गरिएको छ। वीरेन्द्रनगरमा आईतबार भएको एक कार्यक्रममा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक लक्ष्मीनारायण दासले आग्रह गरे । सुर्खेतमा पछिल्लोसमय वर्ड फ्लु देखिएको र वर्डफ्लुको उच्च जोखिममा समेत रहेकोले सतर्कता अपनाउन उनले आग्रह गरेका हुन् ।भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको समन्वय र पशुपन्छी विकास निर्देशनालयको आयाेजनामा भएको वर्डफ्लु रोग सम्बन्धी गोष्ठीमा सहभागी कुखुरापालक किसान तथा प्राविधिकहरूलाई उनले कुखुरा फार्म र वरिपरिको वातावरणमा विशेष ध्यान दिन आग्रह गरे ।
चिकित्सक दासले हालसम्म कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा गरी दुई जिल्लामा वर्ड फ्लु देखिएको जानकारी दिएका थिए । सुर्खेतमा दुईपटक र जाजरकोटमा एकपटक वर्ड फ्लु देखिएको उनलेे जानकारी दिए। उनका अनुसार वर्डफ्लु सबैभन्दा बढी बाग्मती प्रदेशमा २ सय ४२, कोशीमा ३५, मधेसमा १, गण्डकीमा १४, लुम्बिनीमा १५, कर्णालीमा ३ र सुदूरपश्चिममा २ पटक देखिएको छ ।ईस्वी संवत २००९ मा नेपालमा पहिलोपटक कुखुरामा वर्डफ्लु रोग देखिएको थियो । त्यस यता देशको विभिन्न जिल्लामा समयसमयमा रोगको प्रकोप फैलिरहने गरेको छ ।
नेपालमा वर्डफ्लुबाट २०१९ मा एक व्यक्तिको मृत्यु समेत भएको थियो । कुखुरा, हाँस, परेवा लगायतका पशुपन्छी बिरामी भएमा लसपस नगर्ने, मरेका कुखुरा वा कुखुरासँग सङ्क्रमित बस्तु खाडल खनी गाड्ने वा जलाउने, कुखुराको आयात तथा निर्यात गर्दा ढुवानीमा विशेष निगरानी राख्न चिकित्सक दासले सुझाव दिएका थिए। कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले आ-आफ्नो स्थानीय तहमा कुखुरा व्यवसाय गर्दा आइपर्ने समस्याहरूको समाधानको बारेमा गरिने गतिविधि गर्नलाई झकझकाउन सराेकारवालाहरुलाई समेत आग्रह गरेका थिए ।
उनले वर्ड फ्लु रोग नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्थाको बारेमा जानकारी दिएका थिए । यस्तै कार्यक्रममा चार वटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनी, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा.विकास श्रेष्ठ, पशुपन्छी विकास निर्देशनालय सुर्खेतकी डा. सोविना मल्ल, पशुपन्छी विकास निर्देशनालयका अधिकृत मोहन गिरीले आ-आफ्ना भनाइ राखेका थिए।
निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा बराहताल गाउँपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख धर्मराज थापा, भेरीगंगा नगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाई, लेकवेशी नगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख उमादत्त चपाई, वीरेन्द्रनगर नगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख यज्ञप्रसाद पाण्डे लगायत कुखुरा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।