२०८३ असार ११ , बिहीबार

सोह्र हजार बढी पशुपन्छीलाई खोप



हुम्ला । सिमकोट गाउँपालिकाभित्र पर्ने आठ वटै वडामा पशुपन्छीमा लाग्ने विभिन्न रोगविरुद्ध खोप लगाइएको छ । गाउँपालिकाले सोह्र हजार भन्दा बढी पशुपन्छीलाई विभिन्न रोगविरुद्ध खोप लगाएको हो । आठ वटै वडामा एक महिनासम्म सञ्चालन गरेको वृहत खोप कार्यक्रमबाट यति धेरै पशुवस्तुलाई खोप लगाउने कार्य सम्पन्न गरेको गाउँपालिका पशु शाखा प्रमुख महेन्द्र बहादुर शाहीले बताए ।

शिविरबाट गाईगोरु, भैँसी, झोपा, जुुमा, कुखुरा र कुकुर गरी सोह्र हजार ७ सय ४० वटालाई खोप लगाउने कार्य भएको जानकारी दिए । यसमा हिमाली क्षेत्रमा बढी देखिने भ्यागुते, चर्चरे रोगका लागि तीन हजार ८ सय ४५ वटा गाई गोरु, बाछाबाछी, झोपा र जुमालाई खोप लगाइएको छ ।

त्यसैगरी आठ वटै वडामा पीपीआर खोप दश हजार ६ सय ८ भेडाबाख्रा र पाठापाठीमा लगाइएको पशु शाखा प्रविधिक बिष्णु बुमिले बताए । त्यसैगरी रानी खेत रोगका लागि दुई हजार २ सय ५२ कुखुरालाई भ्याक्सिन आँखामा हाल्ने कार्य गरिएको प्राविधिक बुमिले बताए । गाउँपालिका भरिका ३५ वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाउने कार्य पनि भएको छ । चैत ५ गतेबाट शुरु भएको वृहत शिविर सम्पन्न भएको बताउँदै यसका लागि प्राविधिक टोली वडा र बस्तीस्तरमा पुगेर एक महिनासम्म खटिएको थियो ।

जिल्लामा रोग लाग्ने समय भएको कारण गाउँपालिका भरी रहेका सबै बस्ती र खर्कमा प्राविधिकहरुको टोली पुगेर खोप लगाउने कार्य पूरा भएको गाउँपालिका स्रोतले जनाएको छ । वृहत खोप कार्यक्रमबाट सबै भन्दा बढी भेडाबाख्रा भएका वडा नम्बर ७ र ८ मा बढी लाभान्वित भएका छन् । खोप लगाउने कार्य समयमै भएको कारण यसवर्ष रोगबाट पशुवस्तु सुरक्षित राख्न सहयोग पुग्ने किसानहरुले विश्वास लिएका छन् ।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार