२०८३ वैशाख २७ , आइतबार

पशु सेवा कार्यालयहरुको समिक्षा वीरेन्द्रनगरमा सम्पन्न



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका दश जिल्लामा रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालयहरुको प्रगति समिक्षा गोष्ठी तथा प्रदेश स्तरीय ईपिडिमियोलोजी रिर्पोटिङ्ग कार्यक्रम सम्पन्न भएको छ । पशुपन्छी विकास निर्देशनालय सुर्खेतको आयोजनामा सोमवार भएको उक्त कार्यक्रममा दश जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । उपस्थित कार्यालय प्रमुखहरुको चौमासिक समिक्षामा कृषकहरुको पलायनलाई चूनौतीपूर्ण रहेको भन्दै गम्भीर बन्नुपर्ने सुझाव दिएका थिए।

 

कार्यक्रममा जिल्लामा गरेका विभिन्न गतिविधिहरु, उपलब्धि, समस्या, प्रभावकारीता र भावी रणनीतिका विषयमा छलफल भएको थियो । १० वटा पशु सेवा केन्द्रका प्रमुखहरुले आफ्नो कार्यक्षेत्रमा पशुपालनको विकासका लागि भएका गतिबिधिहरु प्रस्तुत गरेका थिए ।उनीहरुले पशुपन्क्षीमा रोगहरुको प्रकोप बढ्नु र नयाँ रोगहरुको संक्रमण थपिदै जानुलाई समेत कार्यालयहरुले चूनौतीका रुपमा लिएको उल्लेख गरेका थिए । साथै निर्देशनालय मातहतको १० वटै जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुखहरुले जिल्लामा थोरै जनशक्तिका भरमा काम गर्नुपरेको अवस्थालाई समेत उल्लेख गरेका थिए ।

 

कार्यक्रममा पशु चिकित्सक डा. सोविना मल्ल, पशु अस्पताल तथा पशु सेवा डोल्पाका कार्यालय प्रमुख जरबहादुर भक्री, जुम्लाका ज्ञानेन्दबहादुर बुढाथापा, मुगुका भिमचन्द्र बुढा, सल्यानका गाविन्दबहादुर महत, कालिकोटका लक्ष्मी अधिकारी, दैलेखका भिमबहादुर विष्ट, रुकुमपश्चिमका ज्ञानु शर्मा, जाजरकोटका कलमबहादुर महतारा र हुम्लाका कृष्ण रोकायले प्रगति विवरण प्रस्तुत गरेका थिए। यस्तै, प्रमुखहरुले प्रस्तुत गरेका प्रगति विवरणप्रति सुझाव दिँदै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज दाहालले न्यून जनशक्तिका बाबजुद पनि दोस्रो चौमासिकको प्रगतिप्रति खुसी व्यक्त गरे। उनले जिल्लाहरुबाट आएका समस्याहरुलाई प्राथमिकीकरण गरी मन्त्रालयमा रिपोर्ट पठाउन आग्रह समेत गरे ।

 

सचिव दाहालले अहिले भएको जनशक्तिले मात्र भेटेरिनरी सेवा पुर्याउन सक्ने अवस्था नरहेकोले थप जनशक्तिका लागि पहल गरिने बताउँदै १० वटै जिल्लाका प्रमुखहरुमा केही कुराको कमजोरी भएकोले आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरुकोसमेत उल्लेख गरेका थिए। सचिव दाहालले आगामी दिनमा पूर्व तयारी गरेर विवरण प्रस्तुत गर्न आग्रह गर्दै जिल्लामा भएका पशु सेवा कार्यालयलाई अझै थप सुदृढिकरण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण पंगेनीले समिक्षा कार्यक्रम अनुभव आदान-प्रदानको थलो समेत भएकाले यसको भरपुर सदुपयोग गर्न आग्रह गरे । कार्यक्रम निर्देशनालयका निर्देशक कृष्ण पंगेनीको अध्यक्षता र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०७९ चैत ६ गते सोमबार