२०८३ वैशाख २७ , आइतबार

जाजरकोटमा ब्लड बैक नहुँदा बिरामीलाई सास्ती



निर्माणधिन जाजरकोट जिल्ला अस्पताल

जाजरकोट । गत फागुन २२ गते जाजरकोट नलगाड नगरपालिका–२ डाडागाँउकी ३२ वर्षीय पशुपति गिरी घरमा सुत्केरी हुन नसकेपछि मिसन अस्पताल चौरजहारीमा भर्ना भईन् । सामान्य अवस्थामा बच्चा जन्मिन नसकेपछि अप्रेशन गरी उपचार गर्दा उनलाई रगतको आवश्यकता पर्याे । आवश्यकता परेको रगत जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ईन्द्रबहादुर शाहीले दिएपछि गिरीको ज्यान बच्यो । ओ पोजेटिभ रगतको अभावमा छट्पटिएकी गिरीलाई रक्त समूह मिल्ने अस्पताल वरिपरिका सबैलाई आग्रह गरिएको थियो । तर रक्तदानका लागि कोही पनि तयार नभएपछि अन्तिम अवस्थामा हवलदार शाहीले अस्पतालमै गएर रक्तदान गरेका थिए । शाहीले रक्तदान गरेपछि गिरीकोे स्वास्थ्यमा सुधार भई उनी अहिले घरमा बसिरहेकी छन्।

 

यस्ता घटना जाजरकोटमा दिनहुँजसो भईरहन्छन् । जिल्ला अस्पताल भएरपनि जाजरकोटमा अहिलेसम्म ब्लड बैङ्क नहुँदा उपचारार्थ भर्ना भएका बिरामीलाई समस्या परेको छ । रगत चाहिएको अवस्थामा सेना र प्रहरीको भर परेको अस्पतालका चिकित्सकहरु बताउँछन् । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नैपर्ने भएपनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानु पर्ने बाध्यता छ । आवश्यक पर्ने समूहका रगत बिरामीका आफन्तले खोजेर ल्याएपछि मात्र अस्पतालले जटिल उपचार गर्ने गरेको छ । यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई ब्लड दिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्वास्थ्यकर्मी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था रहदै आएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले बताए । उनले रगत दान गरे बिरामी परिनुका साथै आफु कमजोर भइन्छ भन्ने यहाँका स्थानीयवासीमा परेको नकारात्मक सोचका कारण प्रायः रगत दान गर्न नमान्ने गरेको बताए ।

 

जिल्लाका सातवटै पालिकाले बजेटको व्यवस्था गर्ने र अस्पतालले ब्लड बैङ्क सञ्चालन गर्ने भनि केही बर्ष अगाडि जिल्ला प्रशासन कार्यालयमा निर्णय भएको र त्यसको कार्यान्वयनका लागि स्थानीय तहमा पत्राचारसमेत गरिएको थियो । तर, जाजरकोटका सबै स्थानीय तहले यसलाई चासो नदिदा हालसम्म पनि जाजरकोटमा ब्लड बैँक सञ्चालन हुन नसकेको प्रमुख कँडेलले बताए । जिल्ला अस्पताल जाजरकोटमा ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या भएजस्तै निशुल्ल्क पाइने औषधिहरूको अभाव हुँदापनि सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन । बिरामीहरु औषधि लिन अस्पतालमा पुगेपनि औषधि नहुँदा महङ्गो मूल्यमा बाहिरका पसलमा गएर औषधि खरिद गर्न बाध्य हुनुपरेको बिरामी र उनीहरूका आफन्तहरुले गुनासो गरेका छन् । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सामान्यखालका सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचार गर्न नपाएको भेरीनगरपालिका ८ कि ४३ वर्षीय शर्मीला रोकायले गुनासो गरिन् ।

 

जिल्ला अस्पताल जाजरकोटबाट ९८ प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । तर, हाल जिल्ला अस्पताल जाजरकोटमा हाल ३० प्रकारका औषधि मात्र रहेको प्रमुख कँडेल बताउँछन् । सरकारी अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्को मूल्यमा खरीद गर्न बाध्य छन् । कँडेलले आफुहरुले विरामीहरुले पाउने सबै समस्याहरुलाई समाधान गर्ने पहल गरिरहेको भएपनि बजेटको समस्याले गर्दा समस्या समाधान गर्न नसकेको स्वीकार गरे। यसैबीच, सहरी विकास मन्त्रालयको भ्याटसहित ३४ करोड १८ लाखमा लागतमा निर्माण भइरहेको जाजरकोट अस्पतालको अत्याधुनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगको छ । उक्त भवनको २०७७ असोज १६ मा पूर्व वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले शिलान्यास गरेका थिए ।

 

संरचना अभाव हुँदा उपचार गर्न असहज भएपनि नयाँ भवन बनेपछि उपचारमा थप सहजता हुने कँडेल वताउँछन। २०७७ असार २६ देखि गतेदेखि सुरु भएको नयाँ भवनको काम हाल ९६ प्रतिशत सम्पन्न भएको छ । उक्त भवनको काम ३० महिनाभित्र सक्नेगरी सिनर्जी ज्ञानज्योती क्षितिज जेभी कन्स्ट्रक्सन कोटेश्वर काठमाडौँले जिम्मा लिएको थियो । भवनको कम ९६ प्रतिशत सम्पन्न भएको र यही चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिने प्राविधिक टिकाराम पोखरेलले जानकारी दिए । उक्त अस्पतात भवन निर्माण सम्पन्न भएपछि जिल्लावासीलाई सामान्य उपचारको लागि पनि बाहिर जान नपर्ने आशा सर्वसाधारणले राखेका छन् ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार