
हुम्ला । हिमाली जिल्ला हुम्लामा चैत महिनामा पहिलो पटक वर्षा भएको छ । वर्षा भएपछि हुम्लाका किसान खुसी देखिएका छन् । पुस, माघ र फागुन महिना राम्रो सँग हिउँ नपरेको हुँदा खेतबारीमा लगाएका बाली फस्टाएका थिएनन् । अब वर्षा भएपछि बाली राम्रो हुने खार्पुनाथ गाउँपालिका वडा ५ का किसान गोर्ख रोकायाले बताए । किसान रोकायाले पानी परेसँगै वनजङ्गल पनि हरियाली हुने भएकाले किसान खुसी भएको बताए ।
तर चैत महिनामा भर्खरै फुलका कोपिला निस्किएका स्याउ, ओखर, आरुलगायत बोट बिरुवालाई भने त्यति राम्रो नहुने उनले बताए । यस्तै सिमकोट गाउँपालिका किसान रामराज शाहीले बाँझो खेतबारी खनजोत गर्नका लागि सजिलो भएको र बाली लगाउने समय भएकाले आलु, कोदो, कागुनो, चिनो, सिमि लगाउन र उमार्न पानीले सयोग पुर्याउने किसान शाहीले बताए ।
हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाको वडा ६ मा चैत महिनामा दुई पटक हिउँ परेको र अहिले पनि हिउँ परिरहेको स्थानीय लुन्डप लामाले बताए ।नाम्खाको तापक्रम माइनस ११ मा झरेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए । त्यस्तै हुम्लाको मध्य क्षेत्रका चार गाउँपालिकामा पानी परेको छ । जिल्ला सदरमुकाम नजिक ३२ सय मिटरसम्मका डाँडाकाँडा हिउँले सेताम्मे देखिएका छन् ।