२०८३ वैशाख २७ , आइतबार

वीरेन्द्रनगरमा जुनोटिक रोग सम्बन्धि छलफल कार्यक्रम सम्पन्न



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पशुपन्छी रोग नियन्त्रण, नयाँ प्रविधि, जुनोटिक रोग तथा ईपिडिमियोलोजीकल रिर्पोटिङ्ग सम्बन्धी स्थानीय तहका पशु सेवा शाखामा कार्यरत प्राविधिकहरुसँग एकदिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । मंगलबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रम पशु सेवा विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महानिर्देशक डा. काफ्लेले पशुहरुलाई भ्याक्सिन लगाउनु भन्दा अघि पशुको उमेर, स्वास्थ्य अवस्थाबारे जानकारी लिएर मात्र भ्याक्सिन लगाउन आग्रह गरेकी थिइन् । उनले कुनै कार्यक्रम गर्नु अगाडि योजना तर्जुमा गर्नुपर्नेमा जोड दिईन । काफ्लेले स्थानीय तहका जनताहरुसँग कार्यक्रमले प्रत्यक्ष सरोकार राख्ने भएकोले कृषकसँगै सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताइन् । उनले प्राविधिकहरुलाई कृषकका सेवक भएर काम गर्न सकेमा राम्रो प्रगति गर्न सकिने बताइन् ।

 

भेटेनरी डाक्टरको अभाव भएको बताउँदै विभागबाट जतिसक्दो सहयोग गर्ने प्रतिवद्धता उनले जनाएकी छन् । यस्तै कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनी, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. विकास श्रेष्ठ, पशु सेवा विभागकी महानिर्देशक डा. सम्झना कुमारी काफ्ले र वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले ४ वटा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा पशु सेवा सम्बन्धी संञ्चालन भएका कार्यक्रम, रेबिज र जुनोटिक रोगको रोगथाम, नियन्त्रण, खोप लगाउने विधि, र पशु प्राविधिकहरुको समस्या, तथा समाधानका उपाय, प्रभावकारी पशु विकासका लागी कार्यक्रम, कृषक लाभाम्बित कार्यक्रम र विभिन्न योजना तर्जुमा लगायतका विषयमा छलफल समेत भएको थियो । छलफलमा भएका विषयवस्तु माथि वरिष्ठ पशु विकास अधिकृत ढकालले सहजीकरण गरेका थिए ।

 

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका प्रमुख पदमबहादुर सुवेदी, पशुपन्छी विकास निर्देशनालयकी पशु चिकित्सक डा. सोविना मल्ल, पशु अस्पताल तथा पशु सेवा डोल्पाका कार्यालय प्रमुख जरबहादुर भक्री, जुम्लाका ज्ञानेन्दबहादुर बुढाथापा, मुगुका भिमचन्द्र बुढा, सल्यानका गाविन्दबहादुर महत, कालिकोटका लक्ष्मी अधिकारी, दैलेखका भिमबहादुर विष्ट, रुकुमपश्चिमका ज्ञानु शर्मा, जाजरकोटका कलमबहादुर महतारा, हुम्लाका कृष्ण रोकाय र सुर्खेतका नौ वटै स्थानीय तहका पशु सेवा प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत कृष्ण विकले गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार