२०८३ वैशाख २६ , शनिबार

न्याय पाउने आशामा नाम्खावासी



हुम्ला। हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकामा पहिलो पटक न्यायिक समितिको इजलास स्थापना गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच पालिका केन्द्र यालवाङ्गमा न्यायिक समितिको इजलास स्थापना गरिएको हो । पालिकामै पहिलो पटक इजलासको स्थापना भएकाले अब नाम्खावासीले सहज न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।स्थानीय न्यायिक समितिमा विवादित विषयहरू निकै आउने गरेको भए पनि न्यायिक इजलास नहुँदा समस्या भएको थियो ।

 

न्यायिक इजलास स्थापनासँगै न्यायीक समिति तथा सरोकारवाला पक्षसँग विविध समस्याहरु समाधान गर्न र कानुनी क्षमता अभिवृद्धि गर्न तालिम समेत प्रदान गरिएको छ । स्थानीय तहले पनि आफ्नो जिम्मेवारी अनुसार स्थानीयस्तरबाट न्याय दिने लक्ष्यका साथ नाम्खा गाउँपालिका अगाडि बढेको गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक तक्दिर लामाले बताए ।न्यायिक समितिले स्थानीयस्तरमा हुने विवादहरू खासगरी देवानी प्रकृतिका मुद्दाहरू, अंशवण्डा, घरेलु झैँ–झगडा आदि विषयहरू निरूपण गर्ने संवैधानिक व्यवस्था छ ।

 

सोहीअनुसार स्थानीय न्यायिक निकायले न्याय सम्पादन गर्न र निष्पक्ष न्याय दिलाउन सक्नु निकै ठूलो काम रहेको र स्थानीय अदालतकै रूपमा काम गर्ने भएकाले यसको शुरुवात गरेको उनले बताए ।तालिमका क्रममा प्रशिक्षक पूर्णप्रसाद केसीले न्यायिक समिति पालिकाको संवैधानिक निकाय रहेको भन्दै यहाँबाट निष्पक्ष न्याय सम्पादन गरी न्याय दिनुपर्ने बताए । उनले भने, ‘न्याय दिने ठाउँमा बसेपछि पीडितलाई न्याय दिने हो । निष्पक्ष न्यायमा बढी ध्यान हुन्छ । विवादित विषय आउने वित्तिकै कानुनी सल्लाहकारसँग परामर्श गरी फैसला गर्नुपर्छ ।’

गाउँपालिकामा कानुनी सल्लाहकार, कर्मचारी अभावका कारण सहज रूपमा न्याय निरुपण गर्न कठिनाइ भएको र मुद्दा दर्तादेखि पक्ष विपक्ष बोलाएर आफैंले अन्तिमसम्म हेर्नुपर्ने अवस्था भन्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले न्याय सम्पादनसम्बन्धी तालिम तथा अभ्यास नहुदाँ फैसला गर्न चुनौती हुने गरेको बताए । उनले न्याय सम्पादनसम्बन्धी अभ्यासका लागि सरकारले तालिम दिए न्याय सम्पादनमा सहज हुने बताए ।

प्रकाशित मिति : २०७९ चैत ७ गते मंगलबार