२०८३ असार १० , बुधबार

सिम्तामा प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा सूचना अधिकारी



कुलेन्द्र शाही सुर्खेत । एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा सिम्ता गाउँपालिकामा आर्थिक कारोबार ठप्प भएको छ । गत फागुन १६ गते ओमप्रकाश देवकोटाले कार्यालय छाडेदेखि कुनै पनि आर्थिक गतिविधि नभएको गाउँपालिकाले जनाएको छ ।

 

हाल गाउँपालिकामा सूचना अधिकारी टोपबहादुर राना निमित्त प्रमुख प्रकाशकीय अधिकृतको रूपमा रहेका छन् । गाउँपालिकामा कार्यालयका अन्य कामकाजहरू निमित्त प्रमुखबाट हुने भएता पनि आर्थिक प्रशासनसँग सम्बन्धित सम्पूर्ण कामहरूका लागि प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने व्यवस्था छ ।

 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नभएपछि गाउँपालिका भित्रका काम सम्पन्न भएका योजनाहरूको रकम भुक्तानी समेत रोकिएको छ, भने नगरपालिकाको अन्य दैनिक कामकाजमा समेत बाधा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कुनै पनि आर्थिक काम गर्न नसकेपछि गाउँपालिकामा कार्यरत कर्मचारीले तलब समेत पाएका छैनन् ।

 

आन्तरिक रूपमा तयार गर्नुपर्ने कागजात मिलाउनु बाहेक अरू काम कुनै पनि काम हुन नसकेको लेखापाल यामलाल पौडेलले बताए । अहिले नै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आउने भन्नेबारे कुनै पनि छलफल नभएको सूचना अधिकारी एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।

 

तलब नपाउँदा कर्मचारीहरू मारमा
सिम्ता गाउँपालिकामा कार्यरत रहेका कर्मचारीले करिब एक महिनादेखि तलब पाएका छैनन् । गत फागुन १६ गतेबाट प्रमुख प्रशासकीय अधिकृत अन्य ठाउँमा सरुवा भएपछि कर्मचारीले तलब नपाएका हुन् । गाउँपालिकामा कार्यरत रहेका कर्मचारीहरूले तबल नपाउँदा उनीहरूलाई घर खर्च समेत चलाउन समस्या भएको छ ।

 

तलब नपाउँदा घर व्यवहार चलाउन मुस्किल परेको भन्दै कर्मचारीले गुनासो गरेको छ । एउटै मात्रै आम्दानीको स्रोत भएको कार्यालयदेखि तलब नपाउँदा घर व्यवहार चलाउन समेत मुस्किल परेको गाउँपालिकामा कार्यरत रहेका एक जना कर्मचारीले बताए । उनका अनुसार तलब नमिल्दा आफूलाई मात्र नभई त्यहाँका सबै कर्मचारीलाई घर व्यवहारदेखि अन्य काममा समेत समस्या भएको छ ।

 

६ वर्षमा पाँच हाकिम परिवर्तन
सिम्ता गाउँपालिकामा २०७३ हालसम्म ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । २०७३ फागुन २९ गते पहिलो निमित्त कार्यकारी अधिकृतका रूपमा गोविन्द राना आएका थिए । उनी फागुन २९ गते आएर चैत १९ गते गए अन्य ठाउँमा सरुवा भए ।

 

राना सिम्तामा करिब एक महिना पनि टिक्न सकेनन् । उनी गएको भोलिपल्टै मौका छोप्दै स्थानीय जनकबहादुर हमाल कार्यकारी अधिकृतका रूपमा आए । उनी २०७३ चैत २० गते त्यहाँ आएका हुन् ।

 

उनीले २०७४ असोज २८ गतेसम्म कार्यकारीका रूपमा काम गरेका थिए भने, त्यसपश्चात् हमाल २९ गतेबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्ने भए । उनले त्यसपछि स्थानीय भई अलि लामो समय सम्म टिक्न सफल भए ।

 

२०७४ असोज २९ गतेबाट २०७७ असोज २६ गते उनले त्यहाँ बस्ने मौका पाए । त्यसपछि हमाललाई त्यहाँबाट बिदाइ गरे । उनी गएको दुई दिन पछि टोपबहादुर राना निमित्त प्रमुख प्रशासकीय रूपमा टोपबहादुर रानाले काम गर्ने मौका पाए ।

 

रानाले २०७७ असोज २८ गतेबाट निमित्तको जिम्मेवारी २०७८ पुस २७ गतेसम्म पाए । त्यसपछि गाउँपालिकामा २८ गतेबाट ओमप्रकाश देवकोटा आए । उनी गत फागुन १६ गते गाउँपालिकाबाट बिदाइ भएर अन्य जिल्लामा सरुवा भएका हुन ।

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार