२०८३ वैशाख २६ , शनिबार

कर्णालीमा नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने माओवादीको निर्णय



सुर्खेत । आज दिउँसो तीन बजे कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदैछन् । त्यसैलाई लक्षित ११ बजेबाट सुरु भएको माओवादी संसदीय दलको बैठक सकिएको छ । बैठकमा अहिलेलाई विश्वासको मत लिएर जाने र त्यसपछि मात्रै सरकारबारे निर्णय गर्ने कुरा भएको छ ।

 

माओवादी संसदीय दलका सचेतक रणसिं परियारले अहिले विश्वासको मत लिएर जाने र मुल रुपमा केन्द्रमा भएको गठबन्धनलाई आधार मानेर नेपाली कांग्रेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको बताए । बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल सहभागी थिए ।

 

परियारले औपचारिक रुपमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा अब नरहेको बताए । यसअघि एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए । यद्यपि केन्द्रमा चुनावी गठबन्धन ब्युँतिएपछि प्रदेशमा पनि त्यही अनुसारको सत्ता सहकार्य हुने करिब निश्चित जस्तै देखिएको छ ।

 

यद्यपि अहिलेसम्म नेपाली कांग्रेसले भने निर्णय गरेको छैन । औपचारिक निर्णयका लागि यतिबेला कांग्रेस संसदीय दलको बैठक जारी छ । एमालेले भने कांग्रेसको निर्णयलाई पर्खेको छ ।

प्रकाशित मिति : २०७९ चैत १७ गते शुक्रबार