
मुख्यमन्त्री राजकुमार शर्मा शिक्षाको वार्षिक स्थिति प्रतिवेदन विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । शनिवार वीरेन्दनगरमा असर नेपालद्धारा आयोजना गरिएको शिक्षाको वार्षिक स्थिति प्रतिवेदन विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले शिक्षा समग्र चिजको आर्थिक आधार एवं मूल जग भएकाे बताएका हुन । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उनको भनाई थियो । मुख्यमन्त्री शर्माले भने, ‘हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण भएन ।
यसमा विनियोजित बजेटको समेत परिचालन सही तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।’ शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उनको भनाइ थियो । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा. गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढे पनि सिकाइस्तर अपेक्षाकृत हुन नसकेको बताए । लैङ्गिक समानता र विद्यार्थी सङ्ख्या बढेको छ’, उनले भने, ‘तर गणित र विज्ञानमा अहिले पनि विद्यार्थी कमजोर छन् । प्रमुख सचिव डा. खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाए ।
कार्यक्रममा गल्ली गल्ली संस्थाका प्रतिनिधि राजीव तिमिल्सिनाले सिम्ता गाउँपालिका सुर्खेत, सान्नीत्रिवेणी गाउँपालिका कालीकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, शिवालय गाउँपालिका जाजरकोट र डुङ्गेश्वर गाउँपालिका दैलेखका पाँचदेखि १६ वर्ष उमेरका बालबालिकाको नेपाली, गणित र अंग्रेजी विषयको आधारभूत सिकाइ मापन गरिएको तथ्याङ्क प्रस्तुत गरेका थिए । डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दरकुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताए ।
यद्यपि प्राप्त तथ्याङ्कहरूको प्रमाणीकरण गरेर मात्र अगाडि बढ्ने अध्यक्षद्वयको भनाइ थियो । असर नेपाल नामक संस्थाले सन् २०२२ देखि ‘साउथ एसियन, असेसमेन्ट अलायन्सः कम्युनिकेटिङ एन्ड कोल्याबोरेटिङ फर चेन्ज’ नामक कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशका पाँच जिल्लामका एक–एक गाउँपालिकाहरूमा नमूना सर्वेक्षण विधिबाट शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) सञ्चालन गरेको असर नेपालका कर्णाली प्रदेश संयोजक ललितजङ्ग शाहीले जानकारी दिए ।