जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी वडा नं ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । संघीयतापछि जुम्लाको पातारासी ५ बालविवाह मुक्त वडा घोषणा गर्ने जुम्लाको पहिलो वडा बनेको छ । यसअघि अशिक्षाका कारण बालविवाह भए पनि अहिले प्रविधिको दुरुपयोगले विवाह हुने गरेको छ।
बालविवाहले महिलाको स्वास्थ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको छ । परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाइएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले बताएकी छन् । बालविवाह गर्नेलाई गाउँपालिकाबाट हुने सार्वजनिक सेवाबाट बञ्चित गर्नेदेखि विवाह बहिष्कार गर्ने संस्कार विकास भएको उनले बताइन् ।
यसका लागि सातवटै वडामा बालक्लब गठन गरेर पातारासीको महिला तथा बालबालिका शाखाले साझेदारी संस्था किर्डाक नेपाल र वर्ल्डभिजनको सहयोगमा बालविवाह मुक्त वडा घोषणा गरेको हो। त्यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले यसअघि बालविवाह भए(नभएको स्वास्थ्यकर्मी र पत्रकारलगायतको टोलीले अनुगमन गरेको बताएका छन् ।