
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पछिल्लो समय कृषकहरु अनुदान पाउनको लागि मात्रै कृषि पेसामा लागेको बताएका छन् । शनिवार वीरेन्द्रनगरमा नेपाल पारा भेटेरीनरी एण्ड लाईभष्टक एशोशिएसनले आयोजना गरेको कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् ।
केही वर्ष अघि कर्णाली खाद्य उत्पादनमा राम्रो भएको उल्लेख गर्दै शाहीले कृषकहरु अनुदान पाउँनैको लागि कृषि पेसामा लागेको हुँदा कर्णली प्रदेश अहिले कृषि क्षेत्रमा गरिब भएको बताए । उपाध्यक्ष शाहीले कर्णालीका किसानहरुलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो।
भारतबाट सस्तोमा तरकारी तथा फलफुल आउने गरेको बताउँदै उनले त्यसको सामू नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसकिरहेकाले आगामी दिनमा नीति ल्याउँदा यसवारेमा पनि सोच्ने पर्ने बताए । उनले उत्पादन वृद्धिका क्षेत्रमा वैंकदेखि राज्य अनि नीजि क्षेत्रले निरन्तर लगानी बढाउदै लैजानुपर्ने बताए। ‘प्रदेश सरकारले यसअघि चिलिङ् भ्याटदेखि गाई भैंसीसमेत वितरण गरेको छ ।
कृषि तथा पशुपालन क्षेत्रमा लगानी पर्याप्त मात्रामा गरेको छ,’ उनले भने, ‘तर उक्त लगानीको प्रतिफल भने पाउन सकिएको छैन । के कारणले यस्तो भएको हो ? बजार नपाएर हो वा मल नपाएर हो वा अरु के कारण हो त्यसको खोजी गर्ने र त्यो समस्याको निराकरण गर्नुपर्ने अवस्था आएको छ । त्यस्तो गर्न सकेमात्र कर्णालीमा कृषि तथा पशुपालन क्षेत्र फस्टाउन सक्ने अवस्था देखिएको छ ।’
उनले वैंक तथा वित्तीय संस्थाहरुले उत्पादनका क्षेत्रमा लगानी गर्न नचाहेको बताउँदै घर घडेरीमा मात्र लगानी गर्न खोजेका कारण देशमा आर्थिक संकट पैदा हुने वातावरण बनेको तर्क प्रस्तुत गरे । यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले पशु प्राविधिकहरुलाई पशु खोप लगाउँदा नेपाल सरकारले प्रति खोप पाँच रुपैंया दिने गरेको भएपनि कर्णाली सरकारले भने त्यसको दर बढाएको बताए ।
‘कृषकले ऋण सहकारीबाट लिएको खण्डमा १० प्रतिशत र वैंकबाट लिएको खण्डमा सात प्रतिशत ब्याज हामीले तिर्दै आएका छौं,’ उनले भने, ‘जसका कारण हामीले डेढ अर्ब भन्दा बढिको कृषि तथा पशुवस्तु निर्यात गर्न सफल भएका छौं ।’
दाहालले पशु प्राविधिकहरुका लागि औषधी व्यवसायी तालिम पनि दिइएको र थप दिइने तयारी गरिएको बताउँदै अब कर्णालीमा एक वर्षमा कम्तिमा एकसय भन्दा बढि त्यस्ता जनशक्ति उत्पादन गर्नेगरि मन्त्रालय अघि बढेको जानकारी दिए। उक्त कार्यक्रममा एशोसियसनका अध्यक्ष रामप्रसाद मेहताले कार्यपत्र प्रस्तुत गरेका थिए ।


