२०८३ वैशाख २७ , आइतबार

सिम्तामा १५ शैया अस्पतालको निर्माण कार्य अन्तिम चरणमा



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका ४ बजेडिचौरमा निर्माणाधिन १५ शैया अस्पतालको काम अन्तिम चरणमा पुगेको छ । माउण्टेन एण्ड कविन्द्र जेभीले निर्माण गरिरहेको अस्पतालको भवनको काम ८५ प्रतिशत सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ करोड पाँच लाख ५७ हजार दुई सय ७४ रुपैयाँ ६३ पैसामा बन्न लागेको उक्त भवनको १५ प्रतिशत मात्र काम बाँकी रहेको ईन्जिनियर शैलेन्द्रदेव गिरीले जानकारी दिए ।

 

दुई तला भएको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि २०७८ असार ९ गते सम्झौता भए पनि काम भने असार २८ गते सुरु भएको थियो । भवन निर्माण कार्य तीव्र गतिमा भइरहेकाले यसै आर्थिक वर्षभित्र सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरिने गिरीले जानकारी दिए । अस्पताल निर्माण गर्न पानीको समस्याले समस्या भएको निर्माण कम्पनीले जनाएको छ । अस्पतालको भौतिक पुर्वाधारको काम सम्पन्न हुने क्रममा रहेसँगै अस्पतालका लागी आवश्यक दरवन्दीका लागि सम्बन्धीत मन्त्रालयमा माग गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले बताए ।

 

अस्पतालबाट विश्वसनिय सेवा दिने गरी योजना निर्माण गरिएको बताउँदै अध्यक्ष चन्दले पहुँचका हिसाबले पालिकाका सबै वडाका नागरिकहरुलाई केन्द्र पर्ने ठाउँमा अस्पताल निर्माण गरिएको र अब अस्पतालले छिट्टै सेवा दिने जानकारी दिए । अस्पताल निर्माणसँगै सेवा प्रवाहको तयारी तथा अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालन गरे पछि सिम्ताका नागरिक अब स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने दिन हट्ने गाउँपालिका अध्यक्ष चन्दको भनाई छ ।

 

उक्त अस्पताल भवन निर्माण सम्पन्न भएपछि सिम्ताबासीलाई उपचारको लागि मेहलकुना, वीरेन्द्रनगर, नेपालगञ्ज जानु नपर्ने आशा सर्वसाधारणले राखेका छन् । नेपाल सरकारका पुर्व स्वास्थ तथा जनसंख्या मन्त्री नवराज रावत तथा सिम्ता गाउँपालिकाका संस्थापक अध्यक्ष कविन्द्र कुमार केसी सहितको टोलीले उक्त अस्पतालको शिलान्यास गरेको थियो ।

प्रकाशित मिति : २०७९ चैत ३० गते बिहीबार