२०८३ वैशाख २७ , आइतबार

दुई महिनापछि पुग्यो पाठ्यपुस्तक



डोल्पा । डोल्पामा नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिनापछि पाठ्यपुस्तक पुगेको छ । डोल्पाका अधिकांश पालिकामा मंसिरमा वार्षिक परीक्षा लिएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुन्छ । पुस-माघमा भने जाडो बिदा दिने गरिन्छ ।

 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत साविकका त्रिपुराकोट, र पहाडा गाविसभित्रका दर्जनभन्दा बढी विद्यालयका लागि पाठ्यपुस्तक पुगेको सृष्टी एण्ड स्मृति स्टेशनरी सप्लायर्सका प्रोपाइटर पूर्ण केशर न्यौपानेले जानकारी दिए ।

 

 

कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई गत महिना नै पाठ्यपुस्तक वितरण गरिएको र बाँकी कक्षाहरुका लागि पाठ्यपुस्तक आइपुगेको न्यौपानेले बताए । फागुन पहिलो सातादेखि शुरु भएको नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तक नआउँदा पुरानै पाठ्यपुस्तकबाट पठन पाठन शुरु गरिएको थियो ।

 

स्टेशनरीले आफ्नो जिम्मामा रहेको पाठ्यपुस्तक पुर्‍याएसँगै वैशाख तीन गतेदेखि वितरण समेत शुरू गर्ने न्यौपानेले जानकारी दिए । त्रिपुरासुन्दरी नगरपालिकाभित्र साविकका ल्हा र लीकु गाविसमा पर्ने विद्यालयहरुमा पाठ्यपुस्तक ल्याउने जिम्मा पाएको आकृति स्टेशनरी सप्लार्सले भने अझै पाठ्यपुस्तक पुर्‍याउन सकेको छैन ।

 

प्रकाशित मिति : २०८० वैशाख २ गते शनिबार