
रूकुम पश्चिम । मा वैशाख १ गतेदेखि हराइरहेका पाँच बालक दुई दिनपछि फेला परेका छन्। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-२ स्यालाबाट नयाँ वर्षका दिन बेपत्ता भएका पाँच बालकहरू जाजरकोटतर्फ जाँदै गरेको अवस्थामा आज बिहान साढे ९ बजे भेटिएका हुन्। इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले १३ वर्षीय कबिराम थापा र मनोज थापा, १४ वर्षीय अब्रराम बुढा, ७ वर्षीय इशाक थापा र १३ वर्षीय अर्जुनलाई जाजरकोट जाने बाटोमा भेटेका हुन्।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार परिवारका सबै सदस्यहरू नयाँ वर्ष मनाउन घरबाहिर गएको मौका छोपेर ती पाँच बालकहरू सल्लाह गरेरै घरबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’उनीहरू सबैले झोला बोकेका छन्, इन्डिया जान लागेको जस्तो देखिन्छ। पाँचमध्ये केही बालकले नेपालगञ्ज जान लागेको बताएका छन्,’ डिएसपी भट्टराईले भने।
बालकहरूले सोधपुछका क्रममा वैशाख १ गतेको रात जंगलमै बिताएका थिए। शनिबार राती भने ढुंगाको ओडारमा बास बसेको खुलेको डिएसपी भट्टराईले जानकारी दिए। घरबाट निस्केर ८ घन्टाभन्दा बढी जंगलको बाटो पैदल हिँडका थिए। उनीहरू बेपत्ता भएको विषयमा प्रहरीले आइतबार मात्रै सूचना पाएको थियो। पाँच जना बालक एकैदिन बेपत्ता भएपछि प्रहरीले पनि घटनालाई संवेदनशील रूपमा लिँदै दुई टोली परिचालन गरिएको थियो।
अस्थायी प्रहरी पोस्ट स्यालाखदीका प्रहरी सहायक निरीक्षक शम्शेरबहादु बोहराको कमान्डमा सात जनाको टोली र इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमान्डमा नौजनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता इन्सपेक्टर विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले बालकहरूलाई जाजरकोट जाँदै गरको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। उनीहरू किन घर छाडेर गए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी भट्टराईले जानकारी दिए।