२०८३ वैशाख २७ , आइतबार

द्वन्द्व पीडितहरुका बारेमा सकारात्मक छलफल भईरहेको छ : मन्त्री जिसी



सङ्क्रमणकालीन न्याय विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको बारेमा सकारात्मक छलफल भईरहेको बताएका छन् । मानव अधिकारका लागि एकल महिला समूहले बुधवार लाटीकोईलीमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जिसीले यस्तो बताएका हुन् ।

 

उनले कर्णाली सरकारले संक्रमणकालीन न्यायलाई सहयोग पुग्नेगरी द्वन्द्वपीडित बिरामीहरुलाई प्रदेश अस्पतालबाट काठमाडौँ रिफर गरी निशुल्क उपचार गर्ने व्यवस्था गरिएको समेत जानकारी दिए । यस्तै, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख लोकनाथ वास्तोलाले संक्रमणकालीन न्यायमा प्रदेश तथा स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने उल्लेख गरे ।

 

उनले सत्य तथ्य पहिचानमा सहयोग, पहिचान भएका पीडित लक्षित कार्यक्रम राहत तथा क्षतीपुर्ति उपलब्ध गराउनमा स्थानीय सरकार र प्रदेश सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिए । प्रमुख वास्तोलाले राजनीतिक ईच्छा, शक्तिको कमीकमजोरी र पीडितहरुले खुलेर मानव अधिकारको कार्यालयमा आउन नसक्दा विभिन्न चुनौती थपिएको गुनासो गरे ।

No description available.

कार्यक्रमका सहभागीहरुले न्याय पाउनुपर्ने मान्छेले न्याय नपाएको गुनासो पोखेका थिए । ‘पिडितहरुले न्याय पाएका छैनौँ, पावर पहुँच भएको मान्छेले मात्रै न्याय पाएका छन्,’ उनीहरुले भने ‘सकेसम्म सरकारवालाहरु घरघरमा गएर आधारिक पीडित मान्छे चिन्न आवश्यक छ ।’

 

एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले संक्रमणकालीन न्यायको समस्या र द्वन्द्वपीडितको बारेमा राज्य पक्षले नै चासो नदिएको टिप्पणी गरिन । राज्य पक्ष र तत्कालीन सशस्त्र विद्रोही पक्षबिच भएको विस्तृत शान्ति सम्झौतामा संक्रमणकालीन न्यायका माध्यमबाट द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने भनिए पनि १६ वर्ष पूरा भइसक्दासमेत संक्रमणकालीन न्यायका कतिपय विषय टुङ्गोमा नपुग्नु चिन्ताको विषय बनेको उनले जिकिर गरिन् ।

 

कार्यक्रममा वीरेन्द्रनगर ३ का वडा अध्यक्ष विनोदसिंह विष्ट, ९ का वडा अध्यक्ष ऋषी गिरी, मानव अधिकार रंक्षक संजालका संयोजक पिताम्बर ढकाल, महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरला रेग्मी, जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी नायव निरीक्षक झरना सुनारलगायतले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०८० वैशाख ७ गते बिहीबार