२०८३ वैशाख २७ , आइतबार

‘जंकफुड’ रोक्न विद्यालयमा पोषण कर्नर स्थापना हुँदै



जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ८ मा रहेको भगवती आधारभुत विद्यालय जातिभिडमा पोषण कर्नर स्थापना हुने भएको छ । उक्त विद्यालयमा पोषण कर्नर सञ्चालनमा ल्याउने नगरपालिकाको तयारी छ । चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र बहुक्षेत्रीय पोषण योजनाले विद्यालयमा पोषण कर्नर स्थापना गर्न लागेको हो ।

 

विद्यार्थीहरुको जनचेतना वृद्धि गर्ने उद्देश्यसहित पोषण कर्नर सञ्चालनमा ल्याउन लागिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले बताएका छन् । उनका अनुसार पोषण कर्नरमार्फत दैनिकरुपमा खानुपर्ने खानाहरु प्रत्यक्ष देखाउने तथा विद्यालय हाताभित्र पोषणयुक्त बालिको खेती गरी देखाइने छ ।

 

चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा जुम्लाको आयोजनमा विद्यालयमा करेसा बारी स्थापनाका लागि विद्यालयका शिक्षक, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई अभिमुखीकरण गराइएको उनले बताए । बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउँदै सुपोषित बालबालिका बनाउने लक्ष्य राखिएको चौलागाईंले बताए ।

 

विद्यालयमा खुवाइने दिवाखाजामा प्रयोग हुने अन्य खाजाको सट्टामा स्थानीय स्तरमै पाइने अन्नको परिकार बनाएर खुवाउने विषयमा अभिभावक र शिक्षकलाई जानकारी गराइएको शिक्षा युवा तथा खेलकुद शाखा जुम्लाका प्राविधिक सहायक उमादेवी उपाध्यायले बताइन् ।

 

उनका अनुसार अभिभावकलाई विद्यालयमा आउने बालबालिकालाई खाजा दिँदा घरमै उत्पादन भएका अन्नबाट बनेका परिकार बाहेक प्याकेजिङ गरिएका खानेकुरा ‘जंकफुड’ नदिन जानकारी गराइएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमका सहजकर्ता भावना खत्रीले सबैको घरमा करेसाबारी स्थापना गरी बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने लक्ष्य रहेको बताइन् ।

 

यो कार्य विद्यालयस्तरबाट शुरुवात गर्न खोजिएको उनको भनाइ छ । यता भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले विद्यालयस्तरबाट पोषण कर्नर स्थापना हुनु सवल पक्ष भएको बताए । विद्यालयबाट सिकेका कुरा विद्यार्थीले घरमा गएर सिकाउने भएकाले पोषण कर्नर स्थापना महत्वपूर्ण भएको उनले बताए ।

 

नगरपालिकाभित्र रहेका १९ वटा विद्यालयमध्ये भगवती आधारभुत विद्यालयबाट यो कार्यको थालनी हुनुले बालबालिकाको पोषण अवस्थामा सुधार आउने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० वैशाख ९ गते शनिबार