२०८३ वैशाख २७ , आइतबार

सुर्खेतमा लागु औषध दुव्र्यशनी भयावह बन्दै



सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै यहाँ लागु औषधको दुव्र्यशनी बढ्दै गएको छ । जिल्लामा लागु औषधको प्रयोग र कारोबार बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण पनि चुनौतीपूर्ण बनेको छ । प्रहरी प्रशासन लगायत अन्य निकायले गरेका लागु औषध नियन्त्रणबारे विभिन्न सचेतनामुलक कार्यक्रम प्रभावकारी र नियन्त्रण हुन सकेका छैन ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा मात्रै एक सय १५ जना पक्राउ परेका छन् । जसमा ९७ पुरुष, ८ महिला र १० जना बालक रहेका छन् । २०७७/०७८ मा ७९ जना पक्राउ परेकोमा गत आर्थिक वर्ष ०७८/०७९ मा १२३ जना पक्राउ परेका थिए ।

 

०७७/०७८ मा ६१ जना पुरुष, ८ जना महिला ६ जना बालक र २ जना विदेशी नागरिक समेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै, ०७८/०७९ मा ११३ जना पुरुष, ९ जना महिला र एक जना बालक पक्राउ परेका छन् । प्रहरीका अनुसार लागु औषध कारोबार गर्नेको सङ्ख्या आर्थिक वर्ष भन्दा यस वर्ष बढ्ने देखिन्छ ।

 

यस चालु आवमा मात्रै ब्राउन सुगर र चरेस गरी ६६ वटा लागु औषधका मुद्दा दर्ता भएका छन् । गत आवमा ६९ वटा मुद्दा दर्ता भएका थिए । यस्तै ०७७/०७८ मा भने सुगर, चरेस गरी ४९ वटा लागु औषधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

पछिल्लो समय १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा युवती फस्ने गरेका छन् भने बालबालिका पनि उत्तिकै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । बढ्दो लागु औषध दुर्व्यसनी नियन्त्रण गर्न प्रहरी प्रशासनले गाउँ केन्द्रित अभियान थालेको उनले बताए ।

 

गाउँका युवा युवती सहर बजारमा पढ्न आउने, गलत सङ्गत गर्ने, अभिभावकले निगरानी नराख्ने लगायतका कारणले लागु औषध दुर्व्यसनी नियन्त्रण बाहिर जान थालेकाले सचेतना अभियान थालिएको डिएसपी शाहीले बताए । प्रहरीले पक्राउ पर्नेहरूलाई लागु औषध ऐन अन्तर्गत मुद्दा दर्ता गर्दै आएको छ ।

 

युवायुवतीहरू साथीसंगती, घर परिवार रेखदेख नपाएर कुलतमा फसिरहेका छन् । युवायुवतीहरूलाई दुव्र्यशनीमा फस्न नदिन अभिभावकले समेत छोराछोरीको विशेष रेखदेख गर्दै निगरानी बढाउनुपर्ने प्रहरीको सुझाव छ । लागु औषधको ओसार पसार र प्रयोगलाई नियन्त्रणमा सक्रियता बढाएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २०८० वैशाख १३ गते बुधबार