२०८३ जेठ २४ , आइतबार

म एक राष्ट्रवादी !



आशिका भट्टराई

कविता

सुन्नुस् त !

म त्यो समाजमा बस्छु,

जुन समाजले स्विकार्दैन रविना देशराजको

सजिएको रङिन सिउँदो,

जहाँ एक वृद्धाको कुरूप अनुहार भोगिरहन्छ,

सदाबहार बोक्सीको आरोप,

जुन समाज रमाउँछ छोरीको सिउँदो

रङिदा जीवन रङिन्छ भन्ने hypothetic मा,

जुन समाजले दिन्छ प्रेमलाई बलात्कारको संज्ञा,

म यही समाजमा बसेर देखाउँछु

छिमेकीको अघि-खुन खार देशभक्ति छोरी,

म उभिन्छु बनेर राष्ट्रवादी

वाल्मीकिको साहित्यलाई शिरोपर गर्दै,

हिँड्छु त्यो धर्मको प्रचार गर्दै,

जुन धर्मले सिकायो

अमृत भनेर पिसाब पिउन,

कसैको हातको पानी नपिउन

साँच्चै म मा अति नै Nationalism छ।

त्यसैले ,म रातो मन पराउँछु र हेरिरहन्छु,

सीमामा बगेको रातो रगत,

सिउँदोबाट पुछिएको रातो सिन्दूर,

शरीरबाट फुकाहिएको रातो वस्त्र।

अनि रमाउँछु-मुसुक्क मुस्कुराउँछु-पढ्दा अखबारमा,

दाइजो नल्याएर श्रीमानले गरे श्रीमतीको हत्या,

देशमा जागिर नपाउँदा आत्मदाह गर्ने प्रेमको कायरता,

सिटामोल र नुनको अभावमा कर्णालीको रैबार,

देशनामी व्यक्तिले गरेको नबालिका करणी समाचार,

गिज्याइरहन्छु बार्दलीमा बसेर,

भोकाइरहेका पेटहरूलाई,

जसरी गिज्याउँछ आकाशले

खडेरी परेका बेला खेतहरूलाई !

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार