मोहन सिङ बुढा, हुम्ला । माथिबाट आएको ढुङ्गा लागेर हुम्लामा एक जनाको मृत्यू भएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर-३ को च्याछहरा क्षेत्रमा जेसिबिले सडक बिस्तार गर्ने क्रममा खसेको ढुङ्गा लागेर अन्दाजी २६ वर्षीय बागमल शाहीको मृत्यु भएको हो ।
सिमकोट गाउँपालिका वडा नम्बर ७ चौगानफयाका अन्दाजी २६ बर्षीया शाहीको खर्क जाने क्रममा च्याछहरामा बिहान ११ बजे जेसिबिले फालेको ढुङ्गा लागेर निधन भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार हिल्सा सिमकोट सडक खण्डको च्याछहरामा जेसिबिले सडकको बिस्तार कार्य गरिरहेको बेला आएको ढुङ्गा लागेर शाहीको निधन भएको हो ।
अहिले भने थप अनुसन्धानका लागि इनिष्पेक्टर राजन भट्टराईको टोली घटना स्थलतर्फ लागेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।