२०८३ वैशाख २७ , आइतबार

जेब्राक्रसिङ्मै सवारीसाधन पार्किङ !



सुर्खेत । गत असार २२ गते सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पार्किङ गरिएको थियो । नयाँ सडक बनेपछि सुर्खेतमा ट्राफिक संकेतहरू बनाइए पनि सरकारी गाडीले नै नियम पालना नगरेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।

 

सरकारी गाडी चालकले जेब्रा क्रसिङमा पाकिङ्ग गर्न हुन्न भन्ने सामान्य कुरासमेत ख्याल नगरेको उक्त घटनाले सामाजिक संजालमा “ट्रोल” भएको थियो । भे १ झ २५६ नम्बर प्लेट भएको सरकारी जीप जेब्रा क्रसिङमा पार्किङ गरेर राखिएपछि पैदल यात्रीहरु छक्क परेका थिए । ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरेर राख्ने र नियम उलङ्घन गर्ने सवारी साधनलाई जरिवाना तिराउने गरेका छन् ।

 

तर, सुर्खेतमा ट्राफिक नियमका बारेमा धेरै जानकारी नपाएका मानिसहरु भएकोले स्थानीय सरकार र प्रहरीले यसको पूर्ण कार्यान्वयन गराउन धेरे चासो दिएको पाइदैन् । यसरी सरकारी सवारी साधन नै जेब्रा क्रसिङ्गमा पार्किङ्ग गर्दापनि नियन्त्रण गर्न नसक्नुमा ट्राफिक प्रहरीको गम्भीर लापरबाही देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले खबरदृष्टिलाई उपलब्ध गराएको तथ्याङ्गकअनुसार वीरेन्द्रनगरमा बनेका नयाँ सडकमा मात्रै ४६ वटा जेब्रा क्रसिङ्ग रहेका छन् । जिल्ला ट्राफिकले सर्वसाधारणलाई हिडडुल गर्न सहज होस भन्ने उद्देश्यले जेब्रा क्रसिङ्ग बनाउने गरेको छ । तर, ती बनाइएका लगभग सबै जेब्राक्रसिङ् उपयोगविहीन भएका छन् । कतिपय ठाउँमा त सरकारीदेखि निजी सवारी साधन पार्किङ्ग स्थल बनेका छन् ।

 

वीरेन्द्रनगरका जेब्राक्रसिङ्गमा रङ्गरोगन गरेर टाढैबाट प्रष्ट देखिने गरी चिरीच्याट्ट बनाइएको छ । तर ती जेब्राक्रसिङ्गबाट यात्रुले सडक पार गर्ने गरेको देखिदैन। चोक चोकमा जेब्रा क्रसिङ्ग छन् तर जेब्रा क्रसिङ्गमै सवारी साधनहरु पार्किङ्ग गरिएको हुन्छ। त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन् ।

 

जेब्राक्रसिङ्ग भनेको पैदल यात्रुहरुलाई सहज रुपमा बाटो काट्नको लागि छुट्टाईएको स्थल हो भन्ने सामान्य ज्ञान पैदल यात्रुलाई छैन। जेब्राक्रसिङ्गबाट पैदल यात्रुले सडक पार गर्दैगर्दा सवारी चालकहरुले गाडी कम गतीमा चलाउने र सवारी साधनहरु रोकेर पैदल यात्रुलाई बाटो पार गर्न प्राथमिकता दिनुपर्ने हुन्छ। सवारी चालकहरुले हेक्का नराख्दा खासगरी अपाङ्गता भएका व्यक्ति, वृद्ध, महिला तथा बालबालिकाहरु समस्यामा पर्ने गरेका छन् ।

 

पैदल यात्रुहरुलाई नै जेब्राक्रसबाट किन बाटो काट्नु पर्छ, नकाटे के हुन्छ भन्ने सामान्य ज्ञान छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले सर्वसाधारणहरुलाई सडक वारपार गर्न बनाइएको जेब्राक्रस चिह्नको बारेमा धेरैजसो नागरिक र चालक समेत अनभिज्ञ भएको बताए ।  उनले जेब्राक्रस चिह्नको महत्वका बारेमा जानकारी नहुँदा अधिकांश पैदलयात्री र चालकहरुले जथाभावी सडक वारपार गर्ने र जेब्राक्रसिङ्गमै पार्किङ्ग गर्ने गरेको बताए ।

 

उनले पछिल्लो समय जेब्रा क्रसिङ्गमा पार्किङ्ग गर्नेको संख्या भने घटेको, तर सडक काट्नेको संख्या भने नघटेको बताए । उनले जेब्रा क्रसिङ्गबारे विभिन्न जनचेतनामुलक कार्यक्रम गरे पनि नागरिकहरुले जेब्राक्रसिङ्को महत्त्व बारेमा ध्यान नदिएको बताए । ट्राफिक प्रहरीले समय–समयमा ट्राफिक नियमको बारेमा जानकारी दिए पनि धेरैजसोलाई जानकारी नभएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधबार