
सुर्खेत । कर्णाली प्रदेशका मिडियाहरूमाथि तीनै तहका सरकारहरूले सकारात्मक धारणा नराखेको भन्दै प्रिन्ट मिडियाका सञ्चालकहरू क्रुद बनेका छन्। मिडियालाई राज्यको चौथो अङ्ग भनिने गरे पनि सरकारका अन्य तीन वटा अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको तुलनामा अपहेलित हुनुपरेको उनीहरूको आरोप छ।
आइतबार सुर्खेतको वीरेन्द्रनगर ‘कर्णाली मिडिया सोसाइटी’ गठन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोभिड–१९, महामारीपछि उत्पन्न आर्थिक मन्दीले मोफसलबाट सञ्चालित प्रिन्ट मिडिया प्रत्यक्ष प्रभावित हुँदा समेत तीनै तहका सरकारहरूले बेवास्ता गरिरहेको उनीहरूले गुनासो गरेका हुन् ।
कोभिड महामारीपछि उत्पन्न आर्थिक मन्दीले प्रिन्ट मिडिया सबैभन्दा धेरै प्रभावित बनेको भन्दै प्रिन्ट मिडियाका बारेमा राज्य उदासीन बनेको उनीहरूले गुनासो गरे। कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले लोककल्याणकारी विज्ञापनको नाम दिएर ३ महिना सरकारी विज्ञापन छाप्न लगाई अन्तिममा १ महिनाको पनि पूरा रकम नदिएको उनीहरूले आरोप लगाए।
निजी क्षेत्रबाट आउने विज्ञापन करिब करिब शून्य अवस्थामा पुगेको, संघसंस्थाहरुले अनिवार्य रूपमा दिनैपर्ने सूचनाहरुपनि दिन छाडेको र सरकारी कार्यालयहरूबाट आइरहेको विज्ञापनहरू नयाँ निर्देशिका र कार्यविधि बनाई कटौती गरिएको उनीहरूले बताए।
उनीहरूले छपाई पेपरको मूल्य दोब्बरले बढे पनि पत्रिकाको मूल्य बढाउन नसकिएको, कर्मचारी र श्रमजीवी पत्रकारहरूको तलवभत्ता बढेको, छपाई मूल्य र घर भाडा बढेकोले पत्रिका निकाल्न घरजग्गा बेच्नुपर्ने अवस्थामा पुगेको बताए।
अहिले सामाजिक सञ्जाल अविश्वसनीय हुँदै गए पनि आम मानिसहरू मिडियाको कुरामा भन्दा सामाजिक सञ्जालमा पोष्ट हुने गलत सूचनाहरूको पछि लागेर हिँड्ने गरेको उनीहरूले गुनासो गरे।काँक्रेविहार मिडिया प्रालिका सञ्चालक सुशीलराज शर्माको संयोजकत्वमा बसेको बैठकमा नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेलले कर्णाली प्रदेश सरकारले पत्रपत्रिका माथि विभेद गरिरहेको आरोप लगाए ।
उनले विभिन्न बहाना बनाएर स्थानीय स्तरबाट प्रकाशित पत्रपत्रिका माथि प्रदेश र स्थानीय तहले उपेक्षा गरिरहेको जिकिर गरे । मिडिया सञ्चालकहरूले अबदेखि सङ्गठित रूपमा आफ्ना समस्या समाधानका लागि सरकारहरूसँग छलफल गर्न आवश्यक रहेको औँल्याए । युग आव्हान दैनिकका सञ्चालक दीपककुमार बुढाले स्थानीय मिडियाको संरक्षणका लागि सरकारले नीतिगतरुपमै उल्लेख गर्नु पर्नेमा जोड दिए ।
नयाँ नेपाल दैनिकका गणेशकञ्चन भारतीले स्थानीय मिडियाको अवस्था दिनप्रतिदिन खस्किँदै गएकाले तीनै तहका सरकारले अभिभावकको भूमिका खेल्न आवश्यक रहेको औँल्याए । उनले खर्च कटौतीका नाममा सरकारले गरेको नयाँ नीतिले पत्रपत्रिका समेत प्रत्यक्ष प्रभावित बनेको जानकारी बताए।
सिद्धदर्शन दैनिकका चिन्तामणि शर्माले स्थानीय पत्रपत्रिका माथि राज्य बेखबर बनिरहेको भन्दै व्यवस्था परिवर्तनका प्रमुख बाहकहरूमाथिको अन्याय बढ्दै गए अर्को विस्फोट हुने चेतावनी दिए। स्थानीय मिडियालाई संरक्षण गर्ने दायित्व तीन वटै सरकारको भए पनि कुनै पनि सरकार मिडियामैत्री हुन नसकेको उनको भनाइ थियो।
काँक्रेविहार दैनिकका सुशीलराज शर्माले स्थानीय मिडियाले भोग्नु परिरहेका समस्याप्रति राज्य बेखबर बस्न नहुनेमा जोड दिए। मिडियाहरू संगठितरुपमै नउठे राज्यले मिडियालाई हेर्ने दृष्टिकोणमा सुधार नहुने उनको भनाइ थियो। हाम्रो अखबार दैनिकका सञ्चालक नगेन्द्र उपाध्यायले मिडियाहरू बाँच्नै नसक्ने अवस्थामा पुगेको बताए।
प्रदेश र स्थानीय तहले मात्रै मिडियालाई हेर्ने दृष्टिकोण परिवर्तन गरे मिडिया सञ्चालन सहज हुने दाबी गरे। सुक्ष्मदृष्टि साप्ताहिकका खगेन्द्र अधिकारी, प्रदेश रैवार साप्ताहिकका नवीनकुमार सुवेदी, जनचाँसो खबर दैनिकका टोपबहादुर विक एवं स्काई न्युज दैनिकमा सञ्चालक आकाशतारा बयकले स्थानीय र प्रदेश सरकारले स्थानीय मिडियालाई सहयोग र संरक्षण गर्न आवश्यक रहेको औँल्याए ।
उक्त कार्यक्रममा काँक्रेविहार दैनिकका प्रकाशक/सम्पादक सुशीलराज शर्माको संयोजकत्वमा ९ सदस्यीय ‘कर्णाली मिडिया सोसाइटी’ गठन गरिएको छ । सोसाइटीको सदस्यमा गणेशकञ्चन भारती, दीपककुमार बुढा, चिन्तामणि शर्मा, नगेन्द्र उपाध्याय, विनोद शाही, टोपबहादुर विक, नवीनकुमार सुवेदी र आकाशतारा बयक रहेको स्काईन्यूज दैनिकका बयकले जानकारी दिए।