सुर्खेत । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित भएका छन् । गैरसरकारी संस्था महासंघ सुर्खेतले तीन समाजसेवीलाई सम्मान गरेको हो । दिवसका अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव गिरी र शिक्षा क्षेत्रका अभियन्ता शिला गुरुङलाई सम्मान गरिएको हो ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले शाही, गिरी र गुरुङलाई सम्मानित गर्दै आफूले गरेको कामको आफैले मुल्याङ्कन गर्न नसकिएको बताए ।
‘कति काम गरिएको छ भन्नेतिर भन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिएँ भन्ने बुझाइ सबैमा देखियो,’ उनले भने, ‘अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हावी भएको छ। हामी सबै आफैंले राम्रो गरेको भन्ने, तर जनताले अनुभूति नै नगर्ने अवस्था आएको छ ।’
मन्त्री जिसीले समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले समाज रुपान्तरणको क्षेत्रमा गैससले खेलेको भूमिकाको प्रसंशा गर्न आवश्यक रहेको बताए।