२०८३ वैशाख ३ , बिहीबार

धुलियाविट वोटेचौर सडक खण्डको डिपिआर स्वीकृत



चैत १७, सुर्खेत

सुर्खेत खण्डमा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । डीपीआर स्वीकृत भएसँगै सुर्खेतको पूर्व क्षेत्रमा मदन भण्डारी राजमार्गले गति लिने भएको हो ।

‘धुलियाबिट–बोटेचौर खण्डको डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ,’ भदन भण्डारी आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिलसेनाले भने, ‘अब बहुबर्षिय आयोजना अन्तर्गत ठेक्का प्रक्रियाको सुरु हुन्छ ।’ आगामी बैशाख महिनाभित्र काम सुरु गर्नेगरी हप्तादिनभित्रै टेन्डर आह्वान गर्ने आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्षमा काम सम्पन्न गर्न नसकिने भएका कारण बहुबर्षिय आयोजनामा ठेक्का प्रक्रिया तयारी गरेको तिमिल्सेनाले जनाए । ठेक्का छनौट भएपछि धुलियाबिटदेखि बोटेचौरसम्म ३५ किलोमिटर सडक खण्डको स्तरोन्नति सुरु हुने छ । गत कात्तिक महिनामा कार्ड कन्सल्ट प्रालिले आयोजनाको डीपीआर तयार गरेको थियो ।

डीपीआर अनुसार सडक नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । हाल सडकमा औसत चार मीटर चौडाई छ । स्तरोन्नती गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुने छ । स्तरोन्नती गर्न झण्डै दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । डीपीआर अनुसार कुल १ अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय ७३ रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७७ चैत १७ गते मंगलबार