२०८३ जेठ २७ , बुधबार

कर्णालीबाट बालकोटलाई सन्देश : प्रदेशको अधिकारमा हस्तक्षेप नगर



कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बुधवारदेखि जारी एमालेको अधिवेशनअन्तर्गत पदाधिकारीहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । गत बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनले लामोसमयको रस्साकस्सी पछि निर्वाचनबाटै कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।

अधिवेशन असोज १० र ११ गते दुई दिनलाई तोकिएको पनि सर्वसम्मतको प्रयासले केही दिन बढेको थियो । दुई लाईन संघर्षकै हिसाबले नेतृत्व चयन भएको हो । पार्टी अध्यक्ष महासचिव र कर्णालीका इन्चार्ज समेतले सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको थियो ।

अधिवेशनमा सर्वसम्मत प्रक्रिया र नेताको आ–आफ्नै दाबीले अधिवेशन लम्बिएको एमाले नेताहरु बताउँछन् । विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू अधिवेशन लम्बिएपछि निकै आक्रोशित बनेका थिए। आइतबार ढिला गरी मतदान भएपछि सोमबार विहानबाट मतगणना गर्ने भनिएपनि दिउँसो १ बजेबाट मतगणना सुरु भएको थियो ।

गुलाबजंग शाहको प्यानलै विजयी
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार पदाधिकारीमा सल्यानका गुलाबजंग शाह नेतृत्वको प्यानलै विजयी भएको छ । अध्यक्षमा शाहले आफ्ना प्रतिस्पर्धी कालिकोटका मीनबहादुर शाहीलाई पराजित गरेका हुन् । उनले ३ सय ६९ मत प्राप्त गर्दा शाहीले भने २ सय ७ मत ल्याएका थिए ।

यस्तै, अध्यक्षमा उम्मेदवारी दिएका अर्का उम्मेदवार प्रकाश रोकायले भने जम्मा ४ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा जुम्लाका टेकराज पछाइले ३ सय ४२ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी जाजरकोटका लालबहादुर महतारा र मुगुका दानसिं परियारलाई पराजित गरे । सचिवमा सुर्खेतका ध्रुवकुमार शाहीले सवैभन्दा धेरै मार्जिनले जितेका थिए। उनले ४ सय ६ ल्याउदा दैलेखका रुद्रबहादुर शाहीले १६९ मत मात्र ल्याउन सफल भए ।

ओलीले चाहँदा चाहँदै पनि शाहीको हार, कँडेलको केन्द्रलाई जवाफ !
गत बुधवार अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष शर्माले शाहीलाई अध्यक्ष बनाउने सङ्केत गरेका थिए । अध्यक्ष ओलीले शाहीलाई नै अगाडि ल्याउने हरदम प्रयास पनि गरेका थिए । तर, ओलीको प्रयास विफल भयो भने यामलाल कँडेलले प्रतिष्ठाको लडाइँ जितेका छन् । यहाँ शाहलाई कँडेलको साथ थियो भने शाहीलाई केन्द्रको र स्थायी कमिटी सदस्य गोरख बोगटीको साथ रहेको थियो ।

उसो त कँडेल पार्टी अध्यक्ष शर्माले नरुचाइएका नेताका रूपमा पर्छन् । त्यसैले पनि शर्माले शाहीलाई सहयोग गर्ने सङ्केत गरेका थिए । कँडेलले केपी ओलीकै चाहना विपरीत कर्णालीमा शाहलाई जिताएर आफ्नो वर्चस्व कायमै रहेको जवाफ पार्टी केन्द्रलाई दिएका छन् । महासचिव पोखरेलले बिहीबार सर्वसम्मतको प्रयास गर्दा शाहीलाई ‘ग्राउण्ड’बाट तपाईँको राम्रो सुझाव आएन गुलाबजीको टिममा मिलेर जानुस् भनेर सुझाव दिएका थिए । तर, उनका टिमका नेता बोगटीको जोडबलमा निर्वाचन लडने तयारी गरेका थिए । यद्यपि उनी पराजित भए ।

अध्यक्षमा निर्वाचित शाह को हुन् ?
गुलाबजङ्ग शाह कर्णालीको एमालेभित्र हक्की र निर्णय लिन सक्ने नेताका रूपमा चिनिन्छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वि।सं।२०२२ सालमा जन्मिएका शाहको राजनीतिक यात्रा आफैमा सङ्घर्षमय छ । ०४० सालमा अनेरास्ववियु पाँचौँमा आबद्ध भएर राजनीतिका यात्रा थालनी गरेका थिए, शाहले । त्यसयता उनी राजनीतिमा निरन्तर सक्रिय छन् ।

कर्णालीको एमालेभित्र प्रभावशाली नेताको छवि बनाएका शाह ०४७ सालमा नेपाल कर्मचारी सङ्गठन बाँकेको जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । ०५० सालमा सल्यान–काठमाडौँ सम्पर्क मञ्चमा आबद्ध भएका थिए । ०५३ सालमा युवा सङ्घ नेपालको केन्द्रीय सदस्य बने ।

बिस्तारै राजनीतिमा फराकिलो छवि बनाउँदै अघि बढेका उनी नेकपा एमाले सल्यानको तेस्रो जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित हुँदै ०५६ सालमा सल्यान–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । ०५८ मा नेकपा माले र नेकपा एमालेको समीकरण भयो । त्यसबेला उनले एमालेको सल्यान जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी पाएका थिए ।

०६६ सालमा सल्यानबाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि सदस्यमा निर्वाचित भएका उनी ०७० सालमा नेकपा एमालेबाट संविधान सभा सदस्यका लागि सल्यान क्षेत्र– १ बाट उम्मेदवार बनेका थिए । एमालेको नवौँ महाधिवेशनबाट २०७१ सालमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी सङ्गठन निर्माण र पार्टीको काममा सक्रियताका साथ अग्रसर भए ।

शाह त्यतिखेर एमाले सल्यानका पार्टी इन्चार्ज समेत थिए । ०७४ मा उनी कर्णाली प्रदेश सभाको निर्वाचनमा सल्यान ९क० बाट निर्वाचित भए । कर्णाली प्रदेशमा तत्कालीन नेकपाभित्रको विवादका बेला पनि शाहको भूमिका महत्त्वपूर्ण रहेको थियो । उनकै जिल्लाका प्रकाश ज्वाला लगायतका नेताहरू एमाले विरुद्ध उभिँदा शाह यामलाल कँडेलको पक्षमा उभिएका थिए ।

नेकपा हुँदा पनि प्रमुख सचेतक बनेका शाह नेकपा विभाजनपछि भने एमाले संसदीय दलको सचेतकको भूमिका थिए । ०७८ मा नेकपा एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनले पार्टीको पोलिटब्युरो सदस्यको महत्वपुर्ण जिम्मेवारी पाए । पार्टीका कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहिसकेका शाह ०७९ को प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए ।
ाफ १

प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार