सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारमा रहेका मन्त्रीहरू जनताका लागि नभई जागिरको लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । मङ्गलवार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको २७औँ बैठक बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले कर्णाली सरकारमा भएका मन्त्रीहरूलाई केही गर्नको लागि हो कि जागिर खानको लागि हो भन्दै प्रश्न गरे । उनले भने ‘मैले बुझेको थिए साथीहरूले केही गर्नका लागि त्यो जिम्मेवारी ठाउँमा हुनुहुन्छ तर आज भन्नुपर्ने परिस्थिति आएको छ, तपाईँहरू जनताको लागि होइन, कर्णालीवासीको लागि होइन, गरिब दुखीको लागि होइन, केबल जागिर खानको लागि मात्रै हो ।’
उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए । नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्ष दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए ।उनले भने, माओवादीले चलाएको मन्त्रालयको ठाउँमा त दुवैखाले कर्मचारीलाई रोक लगाइने अवस्था आएको छ, यो के माओवादीले राम्रो गर्न खोजेको हो, यदी यस्तो हो भने उहाँहरूको उद्देश्य त पुरा होला तर, कर्णालीको विकास कहिल्यै हुँदैन ।’