२०८३ जेठ १९ , मंगलबार

गाउँमै भत्ता पाएपछि शिवालयका नागरिक खुसी



सुर्खेत । दसैँको मुखमा घरैमा सामाजिक सुरक्षा भत्ता पाएपछि शिवालयवासी खुसी भएका छन् । गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि लाभग्राही खुसी भएका हुन् ।
विगतका दिनमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका लाभग्राहीहरुलाई विभिन्न ठाउँबाट पालिकासम्म आउन कठिनाई हुने गरेको र बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौसम्म लाईन बस्नुपर्ने अवस्था रहेको थियोे ।

“पहिले त वृद्धा भत्ता लिनका लागि बैंकसम्म धाउनुपथ्र्याे, त्यसैमा पनि लाइन लाग्नुपर्ने”, शिवालय गाउँपालिका–४ का ज्येष्ठ नागरिक लाल जैसीले भने, “अहिले घरै नजिकको टोलटोलमा आएर बाँड्न थालेपछि सजिलो भएको छ ।” यस्तै सोही ठाउँकी अर्की अशक्त महिला धनसरा जैसीले वडाबाटै भत्ता पाउँदा अति नै खुसी लागको बताइन् ।

“यसै त म अशक्त हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो’ उनले भनिन्, गाउँपालिकाबाट सरहरू आएर यही भत्ता दिनुभयो, अहिले धेरै सहज भएको छ ।” जनप्रतिनिधि आएर पीडा सुन्दै हातमा भत्ता राखिदिएको भन्दै उनले खुसी प्रकट गरिन् । गाउँपालिकाले चाडबाड मनाउनका लागि सजिलो होस् भन्ने उद्देश्यसहित २०७९/०८० को चौथो त्रैमासिकको सामजिका सुरक्षा भत्ता वितरण गरेको हो ।

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलका मानिस भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए । ज्येष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्ति पालिकासम्म आउन नसक्ने भएकाले वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनले बताए ।

बैंक तथा गाउँपालिकाका कर्मचारीसहितको टोलीले शिवालयका ९ वटै वडामासामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । पालिकाले गत १३ गतेदेखि सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको काम आइतवार सकेको हो ।

गाउँपालिकाले शिवालयमा रहेको हिमालयन बैंकसंग समन्वय गरी वडा र टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको काम सकेको हिमालयय बँैकका शाखा प्रवन्धक सन्दिप हमालले बताए । पालिकाले सबै वडाका गरेर करिब दुइ हजार जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका बताइएको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार