२०८३ जेठ २७ , बुधबार

स्थानीय तहका कर्मचारी आन्दोलित : कतै पेनडाउन, कतै कामकाजमै व्यस्त



सुर्खेत । देशैभर यतिबेला स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती विधेयक दर्ताको प्रक्रियामा रहेका बेला स्थानीय तहका कर्मचारीहरु बिभिन्न माग राखेर आन्दोलित भएका हुन् । उनीहरुको माग सम्बोधन गर्ने सरकारको आश्वास विधेयकमा आउनुपर्ने कर्मचारीहरुको अडान छ । सबै स्थानीय तहका कर्मचारीहरुको माग एउटै रहेपनि कतै आन्दोलित छन् भने कतिपय पालिकामा कर्मचारी काममा व्यस्त रहेका छन् ।

 

मंगलवार दिनभर सुर्खेतका केही पालिकामा कर्मचारीले पेनडाउन गरेर आन्दोलनमा उत्रिँदा सेवा रोकिएको थियो भने केही स्थानीय तहका कर्मचारी नियमित काममा व्यस्त रहेका थिए । एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, बिनासहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वअनुमानयोग्य चक्रीय प्रणालीमा सरूवा गर्नुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकास गर्नुपर्ने उनीहरुको माग छ ।

 

त्यस्तै,स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था गर्नुपर्ने, अस्थायी तथा करार कर्मचारीको उचित व्यवस्थापन गरिनुपर्ने स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियनको अधिकार प्रदान गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवासुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने, समायोजनका कर्मचारी (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) को उचित व्यवस्थापन गर्नुपर्ने, जुनसुकै तहमा बहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने माग राखेर कर्मचारी आन्दोलनमा रहेका हुन् ।

 

उक्त मागहरु राखेर २१ गतेदेखि चिङ्गाड गाउँपालिकामा आन्दोलन जारी राखेका कर्मचारीले मंगलवार पेनडाउन गरेका थिए । सोमवार विरोध जनाएका उनीहरुले मंगलवार पेनडाउन गरेका हुन् । यस्तै भेरीगंगा नगरपालिकामा पनि कर्मचारीले अत्यावश्यक काम बाहेक सबै सेवा दिनभर ठप्प पारेका थिए । आफूहरुले अघि सारेका मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने भेरीगंगा नगरपालिका संघर्ष समितिका संयोजक युवराज देवकोटाले जानकारी दिए ।

 

विरोध कार्यक्रमले गर्दा नगरले प्रदान गर्ने सेवा पूर्णरुपमा ठप्प भएको थियो । स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा दैनिक सेवा प्रवाहमा असर देखिन थालेको छ । सरकारी सेवा लिनुपर्ने पहिलो खुट्किलोको रूपमा रहेको स्थानीय तहमै कर्मचारी आन्दोलित हुँदा घटना दर्ता, सिफारिसदेखि प्रशासनिक कामहरू प्रभावित भएका छन् । कर्मचारीको आन्दोलनले दैनिक सेवा प्रवाहमा असर देखिन थालेको गाउँपालिकाले जनाएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधबार