सुर्खेत । दैलेखमा ‘ठूलो ओखती’ नामले चिनिएको एक प्रकारको जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना बिरामी परेका छन् । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम बिक रहेका छन् ।
उनको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । दुई दिन अघिदेखि ज्वरोले थला परेकाहरुलाई ज्वरो घटाउने भन्दै घरमै राखिएको ‘ठूलो ओखती’ भन्ने पहिचान नभएको जडीबुटी खुवाइएको थियो ।
यस्तै ६१ वर्षका धने कामी र १२ वर्षका रमेश बिक पनि बिरामी भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पठाइएको थियो । तर स्वास्थ्य अवस्था झन् जटिल हुन थालेपछि दुवै जनालाई प्रदेश अस्पताल सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज २४ गते बुधबार