२०८३ जेठ २७ , बुधबार

वीरेन्द्रनगरमा लघुवित्त सञ्चालक र सङ्घर्ष समिति आमने- सामने



कल्पना हमाल, सुर्खेत । लघुवित्त बैङ्कका प्रमुख कार्यकारी अधिकृत र सुर्खेतमा लघुवित्तपीडित सङ्घर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएकाहरू बिचमा वीरेन्द्रनगरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तका कर्मचारी देखे कालोमोसो दल्ने र साङ्घातिक आक्रमण गर्ने धम्की दिएका लघुवित्तपीडितहरुले बुधवार भने आफ्ना पीडा मात्रै पोखे ।

उनीहरूले आफ्ना दुःखमा सहयोगी बनिदिन सरोकारवाला सबैलाई अनुरोधसमेत गरे। उनीहरूले लघुवित्तमा काम गर्ने कर्मचारीहरूले गर्ने व्यवहार र उनीहरूले देखाउने तवर नराम्रो भएको बताए । एकअर्का प्रति निकै आक्रामक बन्ने अपेक्षा गरिएको कार्यक्रममा दुबैपक्षले आ–आफ्ना बाध्यता र पीडा सुनाए । लघुवित्तका ऋणीहरूले बैङ्कका कर्मचारीहरूले गर्ने व्यवहार बेठिक भएको बताए ।

लघुवित्तका तर्फबाट सिवाइसीका प्रमुख प्रमुख कार्यकारी अधिकृत (एमडी) डोलेन्द्रप्रसाद शर्माले गाउँका सामान्य र सोझा दिदीबहिनीहरुवाट उठाएको निक्षेपको सुरक्षा गर्नु आफूहरूको दायित्व भएको दाबी गरे । उनले सिवाइसी लघुवित्त साँच्चिकै जनताको सुख दुःखको साथी बन्दै गएको बताए ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा कार्यरत उक्त संस्थाका कर्मचारीहरूको अभिमुखीकरणका लागि आएका शर्माले गाउँका जनताहरूलाई सेवा दिन सिवाइसी लघुवित्तले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको जानकारी दिए । बुधवार वीरेन्द्रनगरमा कचहरी प्रेस क्लबमा आयोजना गरिएको लघुवित्त क्षेत्रमा देखिएका समस्या र समाधानका विषयक बहस कार्यक्रममा आफ्ना धारणा राख्दै उनले लघुवित्तका कारण गाउँका साहुमहाजनबाट चर्को व्याजमा पैसा लिनुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।

उनले भने, ‘गलत नियत राखेर लघुवित्तको नाममा कोही कसैलाई ज्यादती भएको छ भने त्यसलाई  कानुन बमोजिम कारबाही गरिनेछ । कसैले ऋणी प्रति यस्तो खालको व्यवहार देखाउँछ भने  संस्थाको नीति नियम र राष्ट्र बैङ्कको निर्देशन बाहिर रहेर काम गरेको ठहर्दछ । त्यस्तो कामलाई ठिक मान्न सकिन्न ।’ ऋण लिएको नाममा जनतालाई दुःख दिने गरेमा वा व्यक्तिगत फाइदाका लागि गलत आचरण देखाए त्यो कानुन विपरीत हो । यस्तालाई आवश्यक कारबाही गर्नुपर्ने उनको भनाई छ ।

सिवाइसी लघुवित्तसँग आबद्ध कोही कसैले स्थानीयलाई ऋण लिएको नाममा दुःख दिएको भए आफूलाई तत्काल खबर गरे कारबाही गर्ने उनले प्रतिबद्धता जनाए । सबैले लघुवित्तको लक्ष्य, उद्देश्य, मोडिलाटी, मर्म र भावना बुझ्न जरुरी रहेको उनको भनाइ छ । लघुवित्त व्यापार मात्रै नभई गरिब र विपन्नहरूको लागि सेवा पनि भएको उनले बताए। लघुवित्त धनीको लागि नभएको उनको धारणा छ।

‘आफूले जानेको ज्ञान, सीप र स्वपुँजीमा लघुवित्तबाट सानो कर्जा लिएर व्यवसाय गर्नेहरूका लागि लघुवित्तको सेवा उपयुक्त  हुन्छ, ‘उनले भने, ’सानोतिनो दैनिक कमाई गरी लघुवित्तबाट लिएको कर्जाको मासिक किस्ता तिर्नुपर्ने हुन्छ। कर्जा लिएर गलत ठाउँमा प्रयोग भयो भने  उद्देश्य प्राप्ति हुँदैन।’ लघुवित्तबाट एकैचोटी ठुलो कमाइको सपना नदेख्न उनले आग्रह गरे।

क्रमशः जीवनस्तर सुधार्ने, घर खाँचो पर्न नदिने, एक आपसमा सहयोगी र मेलमिलापको भावना विकास गर्ने साथै शिक्षित नयाँ पुस्ताको निर्माण गर्न यसले सघाउ पु¥याउने उनले दाबी गरे। लघुवित्त संस्थाहरू गाउँ–गाउँसम्म पुग्ने भएकोले गाउँ तहसम्म वित्तीय सेवाको पहुँच बढेको उनको भनाई छ ।

बङ्गलादेशले लघुवित्तबाटै विकासमा ठुलो फड्को मारेको उनको धारणा छ। उक्त कार्यक्रममा लघुवित्त संस्था खारेजी सहित लघु वित्तीय संस्थाहरूले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने लघुवित्तपीडित सङ्घर्ष समिति सुर्खेतका अध्यक्ष लक्ष्मी सुनारले माग गरेकी छिन। लघुवित्तको ज्यादती रोक्नुपर्ने, गरिब र किसानहरूलाई निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने उनको माग छ।

लघुवित्त संस्थाहरूले गाउँमा आतङ्क बढाएको भन्दै उनले अधिकांशले मिटर ब्याजमा पैसा लिएर लघुवित्तको किस्ता तिर्दै आएको र गाउँका सबै महिलाहरू  लघुवित्तबाट पीडित बन्दै गएको उनले बताइन् । संस्थाबाट लिएको कर्जा तिर्छौ, भाग्दैनौ भन्दा पनि कर्मचारीहरू घरघरमा दैनिकरुपमा आउने र घरमा नभेटे गाउँमा खोज्दै हिँड्ने, गाली गर्ने गरेको उनले दुखेसो पोखिन् ।

उनले भनिन, ’सहनै नसक्ने भएपछि सडकमा उत्रिएको हो, जिल्ला प्रशासन कार्यालय हुँदै  सडकमा लघुवित्तविरुद्धको लागि आन्दोलनमा लागेका छौँ । समस्या भए मृत्यु दर्ता लिएर आउनुस् हामी छोडिदिन्छौ भन्छन्। खाए पछि तिर्नुपर्छ भन्ने थाहा छैन भन्दै विभिन्न खालका अश्लील गाली गरेर धेरै पिडा पनि दिने गरिएको छ।’

लघुवित्त संस्थाहरूले बचतमा दिनुपर्ने कुनै सुविधा नदिने तर व्याज वृद्धि गरी पीडा दिने काम गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको कार्यक्रममा उपस्थित लघुवित्तपीडितहरूको भनाई छ । लघुवित्तको ज्यादती अन्त्य नगरे र लगाएको ऋण मिनाहा नगरे आन्दोलन थप चर्काउने चेतावनी उनीहरूले दिएका छन् । लघुवित्त संस्थाहरूले घरमै आएर अनावश्यक दुख दिने, धम्क्याउने गरेको पीडितहरूको गुनासो छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहीबार