
सुर्खेत । त्रिभुवन आर्मी क्लबले सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो खेल जितेको छ । वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा आइतबार भएको चौथो तथा अन्तिम खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा हराएको थियो । दोस्रो बाहेक अन्य सेटमा खासै चुनौतीको सामना नगरेको आर्मीले २५–१५ , २१–२५, २५–१४ र २५–१८ ले खेल जितेको हो।
तीन वटै विभागिय टोली आर्मी, नेपाल प्रहरी, साविक विजेता एपिएफ तथा गण्डकीले प्रतियोगितामा समान २ खेल जितेका छन् । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ। आज एपिएफले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हराएको हो । लुम्बिनीको कडा चुनौतीको सामना गरेको एपिएफ २५–२२,२३–२५ ,२५–२२ र २५– १५ ले विजयी भएको थियो।
दोस्रो सेटमा एक समय १७–१० ले पछाडि रहेको खेल लुम्बिनीले उल्टाएको थियो। तेस्रो सेटमा भने लुम्बिनीले २२–१८ को अग्रता जोगाउन सकेन । २२–१८ बाट लगातार ७ अंक जोड्दै एपिएफले सेट आफ्नो पक्षमा पारेको थियो। चौथो सेटमा लुम्बिनीले खासै चुनौती दिन सकेन ।
समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई हराएको थियो। बागमतीलाई जितेको लुम्बिनीले नेपाल पुलिस क्लबसँगको खेल गुमाएको थियो। समूहमा एपिएफ र पुलिसको समान ६ अंक छ। लुम्बिनी र कोशीको समान ३ अंक छ । बागमती प्रतियोगिताबाट बाहिरि सकेको छ।
आइतबार भएको दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो। गण्डकीले मधेशमाथि २५–११, २५–१९,२५–१३ को जित निकालेको हो । समूह ‘बी’मा गण्डकी र मधेश दुबैले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएका थिए। समूहमा गण्डकी र आर्मीको समान ६, कर्णालीको ३ , मधेशको २, सुदूरपश्चिमको १ अंक छ।
दिनको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई ३–० २५–१०, २५–१३ र २५–१७ ले हराएको थियो । गत साता बाग्लुङमा बुकी कप को फाइनल खेलेको पुलिसले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–० ले हराएको थियो। समूह ‘ए’मा बागमतीले भने लगातार तेस्रो हार बेहोरेको छ ।
बागमती पहिलो खेलमा लुम्बिनी र दोस्रो खेलमा कोशीसँग पराजित भएको थियो। एपिएफसँग मंगलबार हुने अन्तिम खेल अघि नै बागमती प्रतियोगिताबाट बाहिरिएको हो । लिग कम नकआउटपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।