२०८३ वैशाख ३१ , बिहीबार

विवाद र तालाबन्दी कै बिच मप विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकियो 



उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह

कुलेन्द्र शाही, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा नन्द बहादुर सिंहले आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । उपकुलपति प्रा।डा। सिंहले चार वर्षे कार्यकाल पुरा गरेर घर फर्किँदै गर्दा आफूले गरेका विभिन्न प्रगति विवरणहरू मङ्गलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

उपकुलपति प्रा।डा सिंहले विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको साथ–सहयोगले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताए । ‘मैले पदीय जिम्मेवारीअनुसार उपकुलपतिको हैसियतले नेतृत्व गरेको हुँ’ उनले भने– ‘मेरो कार्यकाल सफल भए त्यसको सम्पूर्ण श्रेय विश्वविद्यालय परिवारलाई नै जान्छ ।’ मेरा लागि यहाँका विद्यार्थी, कर्मचारी र जनता शत्रु नभई भोक, शिक्षा, गरिबी र पछौटे मेरो लागि ठुलो शत्रु हुन् ।’

उनले विश्वविद्यालयको सर्वोपरि हितलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै भविष्यमा समेत आइपरेको बखतमा निःस्वार्थ रूपले विश्वविद्यालयलाई सहयोग गर्न तत्पर रहेको बताए । मैले कुनै पनि शिर झुकाउने र विश्वविद्यालयलाई नकारात्मक प्रभाव पार्ने हिसाबले काम गरेको छैन,’ उनले भने ‘मेरो कार्यकालमा भएका कामको जिम्मेवारी लिँदै यसको निष्पक्ष रूपमा मूल्याङ्कन यहाँहरूले नै गर्नुहुनेछ ।’

विश्वविद्यालय परिवार एक ढिक्का भएर यसको विकासमा लाग्नु पर्ने आवश्यकता औँल्याउँदै काम गर्ने क्रममा भएका कमी–कमजोरी र आइपर्ने जुनसुकै समस्यालाई आपसी छलफलबाटै हल गर्न सकिने मान्यताका साथ आफूले काम गरेको उनले स्पष्ट पारे ।

उनले आफू मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदमा नियुक्ति भए लगत्तै कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भई विश्वविद्यालयमा हुने गतिविधिमा बाधा अड्चन भएको र सो को बाबजुद समेत विश्वविद्यालयमा हुने गतिविधिहरू सफलतापूर्वक सुचारु गरिएको बताए ।

महामारीसँग लड्न ह्याण्ड स्यानिटाइजरको उत्पादन, जनचेतनामूलक कार्यक्रम तथा रक्तदान, क्वारेण्टाईनको स्थापना लगायतका कार्यहरू गरेको आफ्नो प्रगति विवरणमा उनले उल्लेख गरेका छन् । साथै शैक्षिक सुधार अन्तरगत कोभिड महामारीकाबीच शैक्षिक क्यालेन्डर निर्माण गरी सोहीअनुसार शैक्षिक गतिविधिहरूको सञ्चालन गरिएको जानकारी दिए ।

उपकुलपति सिंहले यो वर्ष चौथो वार्षिक शैक्षिक क्यालेन्डर–२०८० सञ्चालनमा रहेको समेत बताए ।  क्यालेन्डरमा सबै शैक्षिक कार्यक्रमहरूको भर्नादेखि नतिजा प्रकाशन सम्मको मितिहरू स्पष्ट रूपमा उल्लेख गरिएको र सोहीअनुसार कार्यक्रमहरू अगाडि बढेका उनको भनाइ छ ।

हालै युजिसी (UGC) द्वारा राष्ट्रिय स्तरको शैक्षिक क्यालेन्डर डिजाइन गर्दा एमयुको शैक्षिक क्यालेन्डरलाई नमुना क्यालेन्डरको रूपमा समेत प्रयोग गरिएको उनले बताए । त्यस्तै सम्पूर्ण आङ्गिक क्याम्पसहरूको अवस्था, समस्या र चुनौतीहरूको पहिचान गरी समस्याको समाधान गर्ने उद्देश्यका साथ अनुगमन तथा अन्तरक्रिया कार्य सम्पन्न गरिएको उनको भनाइ छ ।

विश्वविद्यालयका सम्पूर्ण भौतिक पूर्वाधार एवम् कक्षाकोठाको स्तरोन्नति गरिएको, विश्वविद्यालयमा हुने हरेक गतिविधिहरूलाई नियमन र सञ्चालन गर्न ४० वटा कार्यविधिहरू कार्यकारी परिषदबाट स्वीकृत गरिएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विद्यार्थीको सङ्ख्या र आर्थिक वृद्धिमा सुधार 

उपकुलपति प्रा.डा. सिंहले आफ्नो नियुक्ति हुनुभन्दा पहिले विद्यार्थीको सङ्ख्या ७ हजार ८ सय रहेकोमा आफू उक्त विद्यालयमा उपकुलपतिका रूपमा नियुक्त भइसकेपछि शैक्षिक सत्र २०७७/०७८ मा सात हजारबाट बढेर ८ हजार ६ सय ६० भएको बताए । उनले प्रत्येक वर्ष विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । उनले २०७८/०७९ मा ११ हजार ८९ र २०७९/०८० मा १२ हजार ६ सय ८४ जना विद्यार्थी भर्ना भएको जानकारी दिए ।

त्यसै गरी शैक्षिक सत्र २०७७/०७८ मा जम्मा परीक्षा २ सय ६८, २०७८/०७९ मा जम्मा परीक्षा २ सय ६३, र २०७९/०८० मा २ सय ७९ परीक्षा सञ्चालन भएको बताए । यस्तै  आर्थिक वृद्धिमा पनि विद्यालयले राम्रो फड्को मारेको उनले बताए । उनले विश्वविद्यालयले आत्मनिर्भर हुनका लागि विभिन्न मोडेल र परियोजनाहरू अगाडी बढाएको बताए ।

जस अन्तर्गत २ तारे स्तरको एमयू होटेल, हर्बल प्रोसेसिङ्ग युनिट, अर्ग्यानिक एक्ग्रिकल्चार फार्मिंड्, सम्बन्धन प्राप्त कलेजबाट प्राप्त आम्दानी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनाहरू, स्विमिङ पुल, एमयू टावर, सेमिनार हल, एमयू इकोनोमीक हव, एमयू इन्जिनियरिङ कन्स्ट्रक्सन ल्याब लगायतका आम्दानीका परियोजनाका रूपमा रहेको बताए । एमयूको एकीकृत भिजन अन्तर्गतका परियोजनाहरू सम्पन्न पंश्चात करिब २८ करोड बढी वार्षिक आम्दानी हुने लक्ष्य राखिएको बताए ।

५७ परियोजना सम्पन्न, ७ पाइपलाइनको चरणमा 

भौतिक पूर्वाधार निर्माण अन्तरगत विगत चार वर्षको कार्यकालको अवधिमा मध्यपश्चिम विश्वविद्यालयमा एक अर्ब ३२ करोड ४३ लाख ५९ हजार २ सय अर्थात् १० मिलियन अमेरिकी डलर बराबरका विभिन्न ५७ वटा परियोजनाहरू सम्पन्न भएको उपकुलपति प्रा.डा. सिंहले बताए ।

त्यस्तै ९ अर्ब ६१ करोड ३० लाख अर्थात् ७२.५ मिलियन अमेरिकी डलर बराबरको ७ वटा परियोजनाहरू पाइपलाइनको चरणमा रहेका उनको भनाइ छ । यस्तै उनले आफ्नो कार्यकालमा विश्वविद्यालयमा अध्यापनरत ४६ जना प्राध्यापकहरूलाई स्वदेश तथा विदेशका विश्वविद्यालयहरूमा अध्ययन तथा अनुसन्धानका लागि पठाइएको बताए ।

पाठ्यक्रमको पुनर्संरचना कार्य सुरु 

उपकुलपति प्रा।डा सिंहले परिवर्तनशील विश्व परिवेश एवम् राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्रोत साधन र मौलिकता समावेश हुने गरी सम्पूर्ण शैक्षिक कार्यक्रमका पाठ्यक्रमहरूको पुनर्संरचनाको कार्य सुरु भएको बताए ।

त्यस्तै प्रत्येक विषयमा सैद्धान्तिक र प्रयोगात्मक पक्षलाई ४० र ६० प्रतिशतमा निर्धारण गरिएको छ । हरेक विषयमा शिक्षण सिकाइको विषयवस्तुको बनावटमा अन्तर्राष्ट्रिय ७०,  राष्ट्रिय एक सय र स्थानीय २० प्रतिशतका दरले हुनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

विश्वविद्यालयमा डिजिटलाइजेसनको सुरुवात

विश्वविद्यालयको केन्द्रीय आइसिटी एकाइ अन्तर्गत मध्य–पश्चिम विश्वविद्यालय डिजिटलाइजेशन र स्वचालन प्रणाली (MU–DAS) को स्थापना गरी विश्वविद्यालयका समग्र क्रियाकलाप छिटो छरितो र पारदर्शी रूपमा सञ्चालन गर्न तथा विश्वविद्यालयलाई डिजिटल विश्वविद्यालय बनाउने उद्देश्य अनुरूप ERPS, EMIS, LMS, वेबसाइट र MU Mobile Applications को निर्माण कार्य सम्पन्न भएको छ भने हाल डेटा अपलोडको कार्य भइरहेको छ जानकारी दिए ।

सञ्चालन तथा पुँजीगत खर्चमा सुधार 

मध्यपश्चिम विश्वविद्यालयले सञ्चालन तथा पुँजीगत खर्चमा सुधार आएको छ । विद्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ७२ प्रतिशत, २०७८/०७९ मा ७२ प्रतिशत र २०७९/०८० मा ७५ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै पुँजीगत  खर्चतर्फ आर्थिक वर्ष २०७७/७८ मा ९८ प्रतिशत, २०७८/०७९ मा ७८ प्रतिशत  र २०७९/०८० मा एक सय प्रतिशत बजेट खर्च गरेको छ ।

उनले विश्वविद्यालयमा आफ्नो नियुक्ति पूर्व आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु रकम ४० करोड ५९ लाख ६० हजार अर्थात् ३६.०४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा १५ करोड ७७ लाख ४४ हजार अर्थात् ५.७५% मा ल्याएको, आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ५२ लाख अर्थात् ३.३१ प्रतिशतमा र २०७८/०७९ मा ५ करोड ३८ लाख ९७ हजार अर्थात् ५.२६ प्रतिशतमा कायम भएको बताए ।

यस्तै आफ्नो कार्यकाल सुरु भएदेखि २०८० फाल्गुन १३ गते सम्म गरी जम्मा १ सय ३८ कार्यकारी परिषद्का बैठक मार्फत १ हजार ६ सय ५५ निर्णयहरू गरिएका बताए ।

बिदाइ गर्नेहरू नै विरोधमा !

मङ्गलवार दिउँसो १२ः३० बजे उपकुलपति प्रा.डा.सिंहले पत्रकार सम्मेलनको कार्यक्रम राखे । पत्रकार सम्मेलन विश्वविद्यालयमा नभई निवासमा गरिने उल्लेख थियो । मङ्गलवारदेखि नै सुरु भएको तेस्रो कर्णाली एक्सपोको उद्घाटन कार्यक्रम पनि सोही समयमा राखिएको हुँदा उपकुलपति सिंहको पत्रकार सम्मेलन कार्यक्रम दिउँसो १ बजेलाई स¥यो ।

एक बजे पत्रकार सम्मेलन हुने भनिएपनि दिउँसोको २ बजिसक्दा पनि पत्रकार सम्मेलन हुन् सकेन । त्यहाँ पत्रकार सम्मेलन गर्ने कुनै माहौल नै थिएन । भिसी निवासको बाहिरको माहौल तनावग्रस्त थियो । केही प्रहरीहरू तैनाथ थिए, त्यति मात्रै नभई भिसी निवासमा अवस्था झन् तनावग्रस्त हुने देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीसहितको प्रहरीको टोली नै थप तैनाथ भएको थियो ।

बाहिर रहेका प्राध्यापक तथा विद्यार्थी नेताहरू कुनै हालतमा भित्र पस्न चाहन्थे तर, प्रहरीले जान दिइरहेको थिएन । मध्यपश्चिम विश्व विद्यालयमा कार्यरत कर्मचारी र विद्यार्थी नेताहरू नै आन्दोलनमा उत्रिएपछि पत्रकार सम्मेलन स्थगित भएर बेलुका ६ बजेलाई स¥यो । अन्य कार्यक्रम र पत्रकार सम्मेलन जस्तो उक्त सम्मेलनमा पत्रकारहरूको उपस्थिति न्यून थियो ।

जब उपकुलपति प्रा.डा. सिंहले आफूले गरेका प्रगतिहरू सार्वजनिक गर्न सुरु गरे त्यसपछि बाहिर विद्यार्थी नेता र कर्मचारीहरूले उनकै विरुद्धमा नारा लगाउन थाले । भिसी मुर्दावाद। दिएको सम्बन्धन खारेज गर भन्दै बिदाइ हुन लागेको भिसीलाई मुर्दावादको नारा लगाइरहेका थिए । तर भिसी भने विश्वविद्यालयलाई आमूल परिवर्तनको बाटोमा लम्काएको दाबी गरिरहेका थिए ।

र, सिंहले भने राजनीतिक आडमा चल्नेहरूले यस्तो कार्य गरेको बताए । उक्त विरुद्धप्रति दुःख लागेको बताउँदै उनले यस्ता क्रियाकलापले विश्वविद्यालयको हित नगर्ने भएकोले सबैले सचेत हुनु जरुरी रहेको धारणा व्यक्त गरे ।

आफ्नो कार्यकालमा भए, गरेका काम, कारबाहीको जबाफदेहिता लिन सदा तयार रहेको बताउँदै उनले भने– ‘मेरो कार्यकालमा भएका हरेक कामको जवाफ मसँग छ । कसैलाई कुनै गुनासो या जिज्ञासा भए मलाई भन्दा हुन्छ । म मात्रै होइन यहाँ जो सुकै आएपनि यस्तै हुने हो । ’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८० फागुन १६ गते बुधबार