सुर्खेत । मङ्गलवारदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्ला शुभकालिका गाउँपालिका १ सडक खण्डको गोगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्गमा पहिरो जाँदा राजमार्गमा चल्ने सवारी साधन बिचबाटोमा अलपत्र परेका छन् । ट्रक, बसलगायत साना सवारी साधनबिच बाटो रोकिएको कालिकोट प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउन बुधवार बिहान ६ बजेदेखि कालिकोटबाट एक्स्काभेटर सहित प्रहरीको टोली खटिएको कालिकोटका ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महतराले जानकारी दिए ।
उनकाअनुसार गोगने खोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको बिच बाटोमा ४/५ वटा ट्रक छन् । कालिकोटबाट सुर्खेत जाने यातायात साधनलाई कालिकोटको हुल्मबजारमा रोकेको प्रहरीले जनाएको छ । अवरुद्ध राजमार्ग खुलाउन टोली त्यहाँ पुगिसकेको र अबको केही घण्टा अवरुद्ध राजमार्ग खुल्ने प्रमुख महतराले बताए ।