सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको यातायात सुरक्षा र ट्राफिक व्यवस्थापन विषयको छलफल कार्यक्रममा कँडेलले यस्तो निर्देशन दिएका हुन् ।
उनले यातायात क्षेत्रलाई सुरक्षित र सहज बनाउनुपर्ने आवश्यकता औँल्याए । मुख्यमन्त्री कँडेलले यातायात व्यवसायीलाई नागरिकलाई सुविधा दिने दायित्व भएको भन्दै, जति प्रतिस्पर्धी बन्नुहुन्छ, नागरिकले त्यति नै सेवा पाउनुहुन्छ,” भने । उनले सुरक्षा चेकजाँचलाई पनि थप सहज बनाउन निर्देशन दिए ।
विशेषगरी राजमार्गमा यात्रु चेकजाँचको प्रक्रिया आवश्यकताको आधारमा व्यवस्थित गर्नुपर्ने बताएका छन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थापनलाई नयाँ तरिकाले सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले चाडपर्वका बेला दुर्घटनाको जोखिम बढी हुने भएकाले सडक सुरक्षामा विशेष ध्यान दिइने जानकारी दिए। कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रमुख अपिलराज बोहराले जनशक्ति र साधन स्रोतको अभावका बाबजुद पनि ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम भइरहेको बताए।