२०८३ भदौ ७ , आइतबार

सुन र दाइजोबिना विवाह गर्ने यी दम्पती



सुन र दाइजोबिना विवाह गर्ने यी दम्पती

सुर्खेत । विवाह भन्ने बित्तिकै धेरैको मानसपटलमा आउने गर्दछ सुन र दाइजो । समाज तथा आफन्तजनलाई देखाउनकै लागि पनि धेरै सुनका गरगहनामा झकिझकाउ हुन्छन् दुलही । सुन मात्र होइन दाइजो कानुनी रूपमा गलत मानिए पनि सामाजिक रूपमा भने भित्र भित्रसम्म जरा गाडेर बसेको अवस्था छ ।

तर सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकालले भने आफ्नो विवाहमा यी दुवै कुरा बहिस्कार गरेकी छन् । उनले सोमवार सम्पन्न विवाहमा सुन नलगाएरै विवाह गरिन् । समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि नै सुन नलगाएरै विवाह गर्ने निर्णय गरेको नव दुलही ढकालले बताइन् । उनले बुटवलका रामु ज्ञवालीसँग विवाह गरेकी छिन् ।

रामु ज्ञवाली हाल शिवालय गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा छन् । उनकी श्रीमती पनि नेपाल सरकारको शाखा अधिकृत हुन् । अस्मिताले सुन र दाइजो विना विवाह गर्ने निधो पहिले नै गरेकी थिइन् । तर, उनका माइती र घर पक्ष भने राजी भएका थिएनन् । अन्ततः दुवै पक्ष मान्न तयार भए । ‘सुरुमा त मेरो कुरामा बुवाआमाहरु मान्न तयार हुनुभएन तर, मैले मनाएरै छाडे’ अस्मिताले भनिन्, ‘मैले विवाहमा सुन नलगाउनु मात्र ठुलो कुरा होइन तर, यसले दिने सन्देश समाजमा सकारात्मक जाओस् भन्ने हो ।’

निम्न वर्गका परिवारहरूलाई विवाहमा सुन जुटाउन आर्थिक रूपमा बोझिलो हुने गर्दछ त्यस कारण यस्ता परम्पराहरूको अन्त्य गर्नु जरुरी रहेको उनको भनाई छ । यसको सुरुवात आफैबाट गर्नु उचित हुँदा यसरी विवाह गर्ने निचोड गरेको उनले बताइन् । समाजमा अनावश्यक खर्च गर्नु हुँदैन भन्ने सन्देश दिन छोरीले गरेको निर्णय मान्न तयार भएको यामु लामिछाने बताउँछिन् ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार