२०८३ वैशाख २६ , शनिबार

सहास नेपालकाे सिकाई तथा अनुभव आदानप्रदान



सुर्खेत । कर्णालीका पाँच जिल्लामा खाद्य पोषण, उत्थानशीलता तथा सामुदायिक संस्थाहरूको सशक्तीकरणसम्बन्धी काम गर्दै आइरहेको सहयोगी हातहरूको समूह (सहास) नेपालले प्रदेशस्तरीय सिकाई तथा अनुभव आदानप्रदान गरेको छ । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुगु, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेतमा विगतमा भइरहेको कार्यक्रमहरूको सिकाई तथा अनुभव आदानप्रदान गरिएको हो ।

सो अवसरमा संस्थाका दिपेश न्यौपानेले सन् २०१० देखि कर्णालीका पाँच जिल्लामा संस्थाले विभिन्न काम गर्दै आएको जानकारी दिए । उनले सुरुमा मुगु र कालीकोटबाट काम थालेको संस्थाले अहिले पाँच जिल्ला पुगेको र सात हजार ५०० घरधुरीमा काम गरेको बताए । सीमान्तकृत समुदाय, दलितमा पनि बादी तथा लोपोन्मुख राजी र अति संकाटापन्न समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा, जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरणका साथै तरकारी खेती तथा किशोरी संवाद केन्द्रमार्फत काम गरिरहेको उनको भनाइ छ ।

यसै गरी सहासका कार्यक्रम संयोजक रोशनी घिमिरेले संस्थाले २१ जिल्लाका ३१ वटा स्थानीय तहमा विभिन्न काम गर्दै आएको जानकारी दिए । देशभर १७ सय ६ वटा समूहबाट ३६ हजार ६ सय ६० घरधुरी र २७६ वटा संवाद केन्द्रसँग काम गरेको छ । संस्थाका कार्यकारी निर्देशक डा. सुरेन्द्रकुमार श्रेष्ठले कर्णालीको सामाजिक, आर्थिक, जलवायु परिवर्तनका कारण संकटासन्न अवस्थामा पुगेका समुदायको सशक्तीकरण र रूपान्तरणको क्षेत्रमा काम गर्दै आएको बताए ।

उनले कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने खाकालाई पनि संस्थाले कृषिमार्फत काम काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि काम गर्दै जाने उल्लेख गरे । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापा, मध्यपश्चिम विश्वविद्यालयका डीन विमललाल कर्ण, कालीकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्ट, दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष जंगहादुर शाहीलगायतले संस्थाले गरेका कामहरूबाट विपन्न समुदायले लाभ लिएको बताए ।

प्रकाशित मिति : २०८१ पुस १४ गते आइतबार