२०८३ वैशाख २७ , आइतबार

कृषि पेसाबाट आत्मनिर्भर किसानका घर–घरमा साहस नेपाल



कुलेन्द्र शाही, सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा ट्राभल सेमिनार, फिल्ड अवलोकन तथा मिडिया अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । जलवायुमैत्री कृषि प्रविधि र अभ्यासहरू अवलोकन गर्दै जलवायु उत्थानशील पालिका सम्बन्धी नरहरिनाथ गाउँपालिका र शिवालय गाउँपालिकाका कृषक र जनप्रतिनिधिहरूबिच सिकाई आदानप्रदान गर्ने उद्देश्यले शिवालय गाउँपालिका वडा नम्बर १ स्यापी र २ को नेपामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि महाशाखाका प्रमुख धनबहादुर कठायत, जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख नारायण सापकोटा, नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाह, शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाही, नरहरिनाथ गाउँपालिका डिआरआरका फोकल पर्सन राजेन्द्र शाही, सहास नेपाल केन्द्रीय कार्यालयका टंक गौतम, नरहरिनाथ गाउँपालिका कालिकोट र शिवालय गाउँपालिका जाजरकोटका कृषक समूह, किशोरी संवाद लगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषकहरू भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको दुःखेसो पोखे । कृषकहरूले नेपालमा उत्पादित तरकारीको मूल्य भारतबाट आएका तरकारीको तुलनामा महँगो हुँदा बजारमा आफ्नो उत्पादन बिक्री गर्न गाह्रो भइरहेको बताए । शिवालय–२ नेपाका किसान बलबहादुर घर्तीले आफूलाई यहाँको स्थानीय तरकारी बजारमा लगेर बेच्न निकै गाह्रो हुने गरेको गुनासो गरे ।

‘हामीले महँगो तरकारी बेचेको बेला व्यापारीहरू भारतको सस्तो तरकारी रोज्छन्, उनले भने, ‘जसले गर्दा हामीलाई समस्या भएको छ । यदि भारतबाट आयात हुने तरकारीमा रोक लगाइयो भने, हाम्रो उत्पादनको मूल्य बढ्ने र आम्दानी राम्रो हुने छ ।,’ यस्तै शिवालय–२ कै किसान नैनसरा घर्तीले पनि उस्तै गुनासो गरिन् । उनले पनि आफूहरूले तरकारी उत्पादन गर्ने गरेको भए पनि बजारीकरणमा निकै समस्या भएको बताइन् ।

उनले भनिन्, ‘हामीले प्याज, टमाटर, आलु, बन्दा, केराउ जस्ता तरकारी उत्पादन गर्छौ, तर बजारीकरणमा समस्या आउँछ । कहिलेकाहीँ हामी आफै तरकारी बोकेर बजार जान्छौँ, तर बिक्री गर्न नसकेर निराश भएर फर्किन्छौँ ।,’ नेपाली उत्पादन लागत नै महँगो हुने भएकाले महँगो पर्ने र भारतबाट आएको तरकारीको मूल्य सस्तो हुने हुँदा उपभोक्ताका लागि ठिक भए पनि किसान मारमा परेको उनको भनाइ थियो ।

यस्तै कालिकोटबाट अवलोकनमा आएकी किसान तारा शाहीले सहास नेपालले आफूहरूलाई कृषि क्षेत्रमा निकै सहयोग गरेको बताइन् । उनले कृषि पेसामा शिवालयका समूहहरूले निकै राम्रो आम्दानी गरेकाले आफूहरूले पनि यसबाट सिक्ने अवसर पाएको बताइन् । कालिकोट र जाजरकोटका किसानहरूले पहिले बाँझो जग्गा छोड्दै गएको तर पछिल्लो केही समय यता सहास नेपालबाट सहयोग पाएको हुँदा कृषि पेसामा आबद्ध भएको बताएका थिए ।

कार्यक्रममा शिवालय कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक विश्वामित्र शर्माले शिवालयका ९ वडामध्ये २ नम्बर वडा तरकारीको पकेट क्षेत्र भएको जानकारी दिए । अन्य वडामा स्थानीयहरू कृषि पेसा गर्न छोड्दै गएको बताउँदै उनले २ नम्बर वडामा भने बाँझोमा पनि तरकारी खेती लगाउँदै गएको बताए । साथै यहाँ स्थानीय सरकार र सहास नेपालको साझेदारीमा विभिन्न कार्यक्रम गर्न सफल भएको हुँदा पछिल्लो समय कृषि पेसामा धेरैको आम्दानी राम्रो भएको उनको दाबी थियो ।

उनले भारतबाट आएको तरकारीको दबदबाले यहाँका स्थानीय तरकारी बिक्रीमा समस्या भएको उल्लेख गर्दै यसमा स्थानीय सरकार एक्लैले मात्रै भारतको तरकारी आयातमा रोक लगाउन नसकिने बताए । प्राविधिक सहायक शर्माले स्थानीय सरकारले ढुवानी, बिक्री वितरणमा प्रचार प्रसार लगायतमा कृषकलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै शिवालय गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले शिवालय गाउँपालिकामा पनि आगलागी, पानीका मुहान सुक्न जाँदा जलवायुमा असर गरेको उल्लेख गरे ।

उनले अब यसलाई न्यूनीकरण गरी पालिकालाई नै जलवायु उत्थानशीलका लागि सहास नेपालले निकै योगदान दिएको बताए । उनले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउँदै पानीका मुहान संरक्षण गर्ने, पोखरी बनाउने, कृषि क्षेत्रमा अग्रसर हुन उनले आग्रह गरे । उनले सहाससँगको सहकार्यलाई सुदृढ पार्ने र समीक्षा सत्रहरूमा प्राप्त सिफारिस गरिएका सुझावहरूको लागि अपनाउने संयन्त्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रशासकीय अधिकृत शाहीले स्थानीय सरकारले गर्नुपर्ने काम सहास नेपालले गरेको हुँदा आफू निकै खुसी भएको बताए । यस्तै कार्यक्रममा कीट मुद्दाहरूको लागि किसानहरूको क्षेत्रमा विभिन्न जैविक जैविक कीटनाशकहरूको प्रभावकारितामा अनुसन्धानलाई एकीकृत गर्ने,स्थानीय आदिवासी ज्ञान र अभ्यासहरूलाई मापन गर्ने, आदिवासी मौरी पालनको संरक्षण प्रयास बढाउने, बजार सम्बन्धलाई सुदृढ पार्ने र मूल्य शृङ्खला विकासलाई प्राथमिकता दिने लगायतका विषयमा सबैको एकिबद्धता थियो ।

यस्तै नरहरिनाथका उपाध्यक्ष शाहले अवलोकन तथा यात्रा सेमिनारका क्रममा धेरै कुरा सिकेको हुँदा उक्त कुराहरूलाई आफ्नो पालिकामा पनि लागु गर्ने बताए । साथै किसानका लागि स्थानीय सरकार प्राथमिकतामा रहेको समेत दाबी गरे । कर्णाली भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास महाशाखा प्रमुख धन बहादुर कठायतले किसानमा जोस जाँगर, तथा मेहनत देख्दा निकै खुसी भएको बताए ।

उनले भारतको तरकारीको दबदबाले यहाँका किसानमा समस्या हुनु निकै दुःखद भएको बताउँदै मन्त्रालयबाट यसलाई रोक्न भन्दा पनि विषादी परीक्षणमा ध्यान दिने र उक्त तरकारीलाई रोक्नमा केही सहयोग गर्ने बताए । उनले किसानमा सिँचाइको समस्या समाधान गर्न लागि मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए । प्रमुख कठायतले सीमान्तकृत समुदायलाई सहयोग गर्ने सहास नेपालको प्रयासलाई प्रशंसा गरे ।

उनले वडा र समुदायसँगको सहकार्यमा विभिन्न तालिमको आयोजना गर्न मन्त्रालय तत्पर रहेको बताए । सो कार्यक्रममा कालिकोट नरहरिनाथबाट उपाध्यक्ष शाहको नेतृत्वमा करिब २२ जनाको कृषकहरू सहभागी भएको थिए । सहभागीहरूले समुदायले अवलम्बन गरिरहेका जलवायु मैत्री प्रविधिहरू घर बगैँचा, प्लास्टिक घरमा तरकारी खेती, थोपा सिँचाइ, खेर गएको पानी सङ्कलन, सामुदायिक पोखरी, गँड्यौला मल अवलोकन र प्रविधिबारे सिकाई आदानप्रदान गरेका थिए ।

यस्तै झोलमल तथा जैविक विषादी, बिरुवा उत्पादनका लागि नर्सरी, साना पशुपन्छी पालन र व्यवस्थापनका लागि अर्धबन्धेज खोर, व्यावसायिक तरकारी र फलफूल खेती, गोठ तथा भकारो सुधार, रोग तथा किरा नियन्त्रणका लागि जैविक प्रविधि आदिको समेत अवलोकन सिकाई आदानप्रदान गरेका थिए । सहभागीहरूले शिवालय गाउँपालिका १ मा रहेको जनप्रभात माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत जलवायु मैत्री कृषि प्रयोगात्मक सिकाई केन्द्रको समेत अवलोकन गरेका थिए ।

‘कृषिमा लाग्न सहासको साथ’
जाजरकोटको शिवालय गाउँपालिकाको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहयोगी हातहरूको समूह (सहास) नेपाल पाइला परियोजना सहयोगी बन्दै गएको छ । शिवालय गाउँपालिका–३ ऐरेलीमा आफ्नो कार्यालय राखेर काम सुरु गरेको संस्थाले कम आयस्रोत भएका किसानको घरमै गएर उनीहरूलाई सहयोग गर्दै आएको छ ।

सहासले किसानलाई सहयोग गरेपछि शिवालयका कतिपय किसानहरू आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफूल, धान, मकै उत्पादन गर्दै आएका किसानहरू हिजोआज प्रविधिको उपयोग गर्दै व्यावसायिकतर्फ अग्रसर देखिएका हुन् । शिवालय–४ कि किसान सुनिता शाही (रावत) ले सहास नेपालले कृषि पेसाबाट आम्दानीको स्रोत जुटाउने काम गरेको बताइन् ।  ‘पहिले महिलासँग एक रुपैयाँ हुन्थेन, जब सहास नेपालले आफूहरूलाई कृषि पेसामा लाग्न प्रेरित ग¥यो त्यसपछि महिलाको पकेटमा समेत पैसा हुन थाल्यो ।,’ उनले भनिन् ।

‘कृषि पेसा गर्नुहुन्न जागिर खानुपर्छ भन्छन् तर, जागिर खाएको मान्छे पनि छोडेर कृषि पेसामा लागेका छन्, त्यसैले अब नेपालमा कृषि पेसाबाटै केही गर्न सकिन्छ जस्तो लाग्छ ।,’ यस्तै कालिकोटकी किसान कमला सहकारीले जलवायु परिवर्तनका कारण कृषकहरूमा पर्ने समस्या कम गराउनका लागि उपलब्ध हुने थोपा सिँचाइ, प्लास्टिक घर, खेर जाने पानी सङ्कलन टङ्की, पशुमुत्र सङ्कलन र तरकारी खेतीमा प्रयोग सौर्य ऊर्जा, सुधारिएको धुवाँरहित चुलो, उन्नत कृषि औजार र मौसमको पूर्वानुमान म्यासेज आउने गर्नाले आफूहरूलाई निकै सहज भएको बताइन् ।

यस्तै शिवालय– ५ कि विमला खत्रीले किसानहरूमा सहास नेपालले काम थालेपछि धेरै कुरामा फरक भएको बताइन् । उनले कृषिमा मात्रै होइन व्यक्तिगत जीवनमा समेत फरक ल्याएको बताइन् । ‘हामी पहिले सबैको अगाडि बोल्न जान्थेनौ, अहिले सबैको अगाडि बोल्न सक्ने आफ्नो परिचय दिनसक्ने भएका छौ ।,’ उनले भनिन्, ‘गाउँमा कृषि पेसाबाट आम्दानी हुन्छ भन्ने पनि थिएन अहिले राम्रो आम्दानी गरेका छौ ।’

उनले थपिन्, जलवायु परिवर्तनको कारण र असर बुझ्न सक्ने भएका छौँ । दिगो कृषि प्रणालीका लागि स्थानीय रैथाने बालीको संरक्षण गर्नतर्फ हामीहरू लागेको छौ ।’ यस्तै परियोजनाले किशोरी संवाद सञ्चालन समेत गरेको छ । यसले गर्दा समुदायमा रहेका व्याप्त कुसंस्कार कुरीति छुवाछुत, बालविवाह न्यूनीकरण, विद्यालय निरन्तरता लगायतमा किशोरीहरूको निकै सक्रियता बढेको किशोरी संवादकी अध्यक्ष रिता बुढाले बताइन् ।

सहास नेपाल शिवालयका प्रमुख हरि प्रसाद अधिकारीले पालिकाको योजनाले मात्र सम्भव नरहेकाले शिवालयका ९ वटै वडामा किसानलाई व्यवसायतर्फ जोड्न सुरु गरेको बताए । ‘खेतीयोग्य जमिन छ, जे लगायो त्यहीँ हुन सक्ने ठाउँ छ, तर पनि हामी मेहनत गरेर खान अल्छी गरिरहेका छौ, प्रमुख अधिकारीले भने, ‘आफ्नो बारीमा केही लगाउन सधैँ सरकारले सहयोग गर्ला र केही गर्छु भन्ने धारणा गाउँघरमा अझै पनि छ, त्यसलाई चिर्न र व्यवसायमा रुचि बढाउन हामीले पालिकासँग समन्वय गरेर काम गरिरहेका छौँ ।’

नरहरिनाथमा पनि परिवर्तनको योगदान
सहास नेपालले जाजरकोटको शिवालय मात्रै होइन कालिकोटको नरहरिनाथका स्थानीयलाई पनि कृषि पेसामा निकै योगदान गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शाहले आफ्नो गाउँपालिकामा पनि सहास नेपालले कृषि पेसामा अग्रसर हुन निकै जोड दिएको बताए । उनले स्थानीय सरकारको काम सहास नेपालले गरेको बताए । उनले नरहरिनाथमा पनि सहास नेपाल र पालिकाको साझेदारीमा कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले सहासले किसानलाई सहयोग गरेपछि यहाँका कतिपय किसानहरू आत्मनिर्भर बन्दै गएको बताए । गाउँपालिकाका किसानहरूलाई सहासले तरकारी, पशुपन्छी, बाख्रा, माछा वितरण गर्ने गरेर आत्मनिर्भर बनाउनमा जोड दिएको बताए । परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफूल, धान, मकै उत्पादन गर्दै आएका किसानहरू हिजोआज प्रविधिको उपयोग गर्दै व्यावसायिकतर्फ अग्रसर देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ चैत १४ गते बिहीबार