काठमाडौँ । नेपाल प्रहरी संगठनमा उच्च तहको सरुवाले गति लिएको छ । आइतबार गृह मन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गर्दै प्रदेश प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी दिएको हो ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार, कोशी प्रदेशको प्रहरी प्रमुखमा डीआईजी ईश्वर कार्कीलाई खटाइएको छ। मधेस प्रदेशमा डीआईजी उमाप्रसाद चतुर्वेदी, बागमती प्रदेशमा डीआईजी अरुण पौडेल, गण्डकी प्रदेशमा डीआईजी दिनेशकुमार आचार्य, लुम्बिनी प्रदेशमा डीआईजी राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिम प्रदेशमा डीआईजी डम्बरबहादुर विकलाई सरुवा गरिएको हो ।
त्यस्तै डीआईजी गोविन्द थपलियाको केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा सरुवा भएको छ । कर्णाली प्रदेशमा भने कुनै नयाँ डीआईजी खटाइएको छैन । सरुवा गरिएका डीआईजीहरूलाई तत्काल कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।