२०८३ वैशाख २ , बुधबार

नगरपालिकाका हाकिमसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको ​​डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित ८ जना र जीएस निर्माण सेवाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिजुलीको पोलमा उच्चस्तरीय लाइट जडान गर्ने कार्यमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाका सम्पूर्ण वडामा बिजुलीको पोलमा उच्चस्तरीय लाइट जडानका लागि बजेट विनियोजन भएको थियो । उक्त कार्यका लागि कमसल लाइट जडान गरी फर्जी बिलमार्फत सम्पूर्ण रकम असार मसान्तमै भुक्तानी लिई हिनामिना गरिएको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा १४८ थान एलईडी स्ट्रीट लाइट जडान कार्यका लागि ४८ लाख २४ हजार ८७४ रुपैयाँको ठेक्का दिँदा सार्वजनिक खरिद ऐन, नियमावली र कार्यविधि उल्लंघन गरिएको पाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार ठेकेदारसँगको मिलेमतोमा काम नगरी गरिएको मूल्यांकनका आधारमा ३ लाख ९२ हजार २ सय रुपैयाँ भुक्तानी दिइएको पाइएको छ । साथै लागत अनुमान तयारीमा प्रमाणबिना नै अस्वाभाविक रूपमा बढी मूल्य राखी २१ लाख १२ हजार ३३० रुपैयाँ भुक्तानी भएको पुष्टि भएको आयोगले जनाएको छ ।

कुल २५ लाख ४ हजार ५३० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको ठहर गर्दै आयोगले ८ जना र १ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार