२०८२ फागुन १ , शुक्रबार

कर्णालीसहित यी प्रदेशमा आज भारी वर्षा



सुर्खेत । हाल देशभर मनसुनी वायुको प्रभाव छ । तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ । त्यसैगरी, शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेश प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार