काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । यसअघि जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो ।
प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ ।राजनीतिक दलभन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने जस्तो जानकारी आफूहरूले पाएको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा अन्य राजनीतिक दलहरूले पनि जेनजी पुस्ताको मागअनुसार, चुनावी सरकारको गठनमा सहमति दिएका थिए । त्यसपछि शुक्रबार राति राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । शुक्रबार नै कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेकी थिइन् । शपथपछि कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने शर्तमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको हो । तर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले संसद् विघटनप्रति असन्तुष्टि जनाएका छन् । संविधानभित्रैको प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने र संसद् कायम नै राख्न सकिने अवस्था रहेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् । जेनजीको आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउने समझदारी भएको थियो ।