काठमाडौँ । जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आन्दोलनमा सक्रिय योगदान दिँदै आएका सुदन गुरुङमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्। उनले स्वतन्त्रतापूर्वक अभिव्यक्ति राख्ने अधिकार कुण्ठित गर्ने प्रयास अस्वीकार्य भएको बताउँदै यस्ता असहिष्णु क्रियाकलाप नगर्न सम्पूर्ण पक्षलाई सचेत गराएका छन्।
हमालले भाद्र २३ र २४ का घटनामा बलिदान भएका शहीद युवाहरू र अझै अस्पतालमा छटपटाइरहेका घाइतेहरूको एजेन्डालाई आन्दोलनको केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याउँदै, त्यसबाट बाहिर जान खोजे थप समस्या सिर्जना हुने चेतावनी दिएका छन्।
उनको भनाइमा, अहिलेको संविधान समाप्त गरेर प्रदेश र राष्ट्रिय सभा विघटन गर्नुपर्छ। त्यसपछि अन्तरिम संविधानमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली र शक्तिशाली लोकपालको व्यवस्था सहित निर्वाचनमा जानु नै समाधानको बाटो हो। “सबै पक्ष जिम्मेवार बन्नुपर्छ, यही हाम्रो दृढ आग्रह हो,” हमालले भने।